Shittalpati
तानसेन नगर सरकारद्वारा छ विधेयक पारित

रामचन्द्र रायमाझी
पाल्पा,तानसेन नगरपालिकाको छैठौं नगरसभाले छ विधेयक पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका छ विधेयक सर्वसहमत रुपमा पारित गरेको हो । नगरसभाले विनियोजन ऐनको पहिलो संसोधन विधेयक २०७६, तानसेन नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, २०७५ को पहिलो संसोधन विधेयक, नगरपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धी ऐन २०७४ को पहिलो संशोधन विधेयक, तानसेन नगर प्रहरी व्यवस्थापन विधेयक र स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक सर्वसम्मतीबाट पारित गरेको छ । त्यस्तै नगरसभाले नगर शिक्षा विधेयक संसोधन सहित बहुमतबाट पारित गरेको जनाएको छ ।

छैठौं नगरसभामा सार्वजनिक महत्वका विधेयक तथा कार्यविधी संशोधन प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्तावहरुलाई माघ २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको नगरसभाले चालू आ.व. २०७६/७७ को अर्धवार्षिक समीक्षा एवम् चालू आर्थिक वर्षको संशोधित नीति तथा कार्यक्रमहरु सभाबाट प्राप्त सूझावहरु समेत समावेश गर्ने गरी सर्वसम्मती र बहुमतबाट पारित गरेको नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले जानकारी दिए । यसैगरी नगरसभाले नगर सरकारको कार्यक्रम सञ्चालन खर्च मापदण्ड सम्बन्धी निर्देशिका २०७४ को दोश्रो संशोधनका लागि पेश भएको विधेयक कार्यसूचीबाट हटाइ दफावार छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

सभाले नगरभित्रका मेलमिलाप सम्बन्धी आधारभूत तालिम प्राप्त गरेका १४ वटा वडाका ७९ जना मेलमिलापकर्ताहरुको सूचीलाई स्वीकृत गर्ने, तानसेन १३ र १४ बाट प्रस्ताव पेश भई आएका ऋषिकेश मन्दिर परिसरको जग्गा अधिग्रहण, अर्गली रिंगरोड कालोपत्रे, अर्गली दरबार अधिग्रहण, रानीमहल परिसरको जग्गा अधिग्रहण लगायतका योजनाहरुमा आवश्यक बजेट तथा नीतिगत व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । नगरसभामा मगर सांस्कृतिक संग्राहलय निर्माणका लागि पेश भएको संकल्प प्रस्ताव उपर छलफल समेत भएको थियो ।

चालु आर्थिक वर्षमा पूँजीगत तर्फ ४४ करोड ८४ लाख ३९ हजार ६ सय रुपैयाँ विनियोजन भएको ६ महिनाको अवधिमा १ करोड ६१ लाख ९९ हजार ६ सय ७९ रुपैयाँ मात्र खर्च भई ३.६१ प्रतिशत मात्र वित्तिय प्रगति देखिएको र चालुतर्फ ५७ करोड ९ लाख ३५ हजार ४ सय बजेट विनियोजन भएकोमा पुस मसान्तसम्म २५ करोड ८७ लाख ३० हजार ५ सय खर्च भई ४५.३१ प्रतिशत प्रगती देखिएको नगरपालिकाले जनाएको छ । नगरसरकारको आर्थिक वर्ष २०७४/०७५ मा २ करोड ७५ लाख १० हजार २ सय २९ रुपैयाँ बेरुजु भएकोमा ७७ लाख १४ हजार ८ सय ९६ रुपैया सम्परीक्षण गरी १ करोड ९७ लाख ९५ हजार बेरुजु देखिएको छ । आ.व. ०७५/०७६ मा प्रारम्भीक प्रतिवेदनमा १७ करोड ४३ लाख ३ हजार ५ सय ९३ बेरुजु देखिएकोमा १७ करोड ४३ लाख ३ हजार ५ सय ९३ रुपैँया फर्छाैटको लागि पक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ ।

नगरसभामा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले विनियोजन विधेयक २०७६ पहिलो संशोधन, रामबहादुर रावलले सार्वजनिक निजी साझेदारी विधेयक, लोचनप्रसाद तिमिल्सिनाले नगर शिक्षा ऐन, शसी श्रेष्ठले न्यायिक कार्यविधि, मैयादेवी घिमिरेले नगरप्रहरी गठन, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको नगर प्रहरी विधेयक र दीपक विश्वकर्माले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक नगरसभामा प्रस्तुत गरेका थिए, भने नगर प्रवक्ता दामोदर घिमिरेले अर्धवार्षिक नीति तथा कार्यक्रमको प्रतिवेदन पेश गरेका थिए । लोकतान्त्रिक पद्दतिको परिपालना गरेर संसदीय अभ्यासबाट सञ्चालन गरिएको नगरसभा नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा चलेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update