
कृष्ण पोखरेल
पाल्पा । नेपालको चार धामको रुपमा परिचित रुरु क्षेत्र धामको पर्यटकीय धार्मिक गुरुयोजनाको कार्यान्वयको शुभारम्भ भएको छ । नेपालकै नमूना धार्मिक तथा पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्दै धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा रुरु क्षेत्रधामको गुरुयोजना कार्यान्वयन थालिएको हो । धार्मिक पर्यटकिय क्षेत्रहरुको विकास गर्नको लागि रिडिखोला, ऋषिकेशव मन्दिर क्षेत्र र कालीगण्डकी क्षेत्रमा तटवन्ध कार्यक्रम शुरु भएको छ । गुरु योजना अन्र्तगतको पहिलो पूर्वाधार तटवन्ध कार्यक्रमको लु्म्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रुरु क्षेत्र धाम रिडिमा पुगी गुरुयोजनाको शुभारम्भ गरेका छन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले रुरु क्षेत्रधामलाई नेपालकै नमूना धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले गुरुयोजना नै बनाएर काम शुरु गरेको बताए । दुबै तिर नदीबाट जोखिममा रहेका बस्तीहरु बचाउदै नदी क्षेत्र वरिपरी गुरुयोजना अनुसारका संरचना बनाउदै जाने मुख्यमन्त्री पोखरेलले बताए । कार्यक्रममा वन तथा वातावरण मन्त्री लिला गिरीले ३ जिल्लाको संगम स्थलको साथै ऐतिहासिक धार्मिक तथा पर्यटकिय पुरानो व्यापारिक केन्द्रको रुपमा रहेको रुरुधाम क्षेत्र रिडिलाई प्रदेश सरकारले प्रमुख धार्मिक तथा पर्यटकिय गन्तव्यको सूचीमा राखी पुर्वाधार निर्माणका कामहरु गर्दै आएको बताए । कार्यक्रममा संघीय सांसद सोम प्रसाद पाण्डे, प्रदेश सांसदहरु तुल बहादुर घर्ति, नारायण आचार्य, डा. पुरनमान बज्राचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही,लगायतले सबै पक्षको सहभागितामा रुरु क्षेत्रलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भू तथा जलाधार व्यवस्था कार्यालय पाल्पाका कार्यालय प्रमुख आनन्दराम घिमिरेले बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
पहिलो चरणमा गुरुयोजना अन्र्तगत रिडी तथा कालीगण्डकी नदीमा २ हजार ८ सय २० मिटर लामो र ७ मिटर अग्लो आरसीसी टेवा पर्खाल निर्माण गरिने छ । यसै गरी ऋषिकेशव मन्दिरतर्फ कालीगण्डकी तथा रिडि खोलामा २ सय ८८ मिटर लामो परापेट निर्माण गरिने छ । सो क्षेत्रमा ६ सय ६६ थान ग्याविन बक्स भरी लञ्चिङ एप्रोन निर्माण गरिने छ । उक्त कार्यको लागि ३४ करोड २० लाख ६० हजार ६ सय ४० रुपैयाँ ठेक्का लागेको छ । यो गुरुयोजनाको पहिलो चरणमा नदि तथा खोलाको कटान नियन्त्रण गरी जमिनको सरक्षण गर्ने, नदी तथा खोलाका दुबै तर्फका बस्ती तथा धार्मिक स्थलहरु जोगाउने, खोला तथा नदी क्षेत्रवरीपरी गुरु योजना अनुुसारको पूर्वाधार निर्माणका लागि जमिन तयार गरिने छ । गुरुयोजनाको पहिलो चरणको कार्यक्रमबाट १० हजार जनसंख्या लाभान्वित हुनेछन् भने ६० हजार दिन रोजगारी प्राप्त हुने छ ।