कृष्ण पोखरेल
पाल्पा । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै पाल्पाका विद्यालयमा पठन–पाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरी मापदण्ड पूरा गरी विद्यालय खोल्न स्थानीय तहलाई अनुमती दिएपछि ८ महिनादेखि बन्द रेहका विद्यालयमा पठन–पाठन सुरु भएको हो ।
कार्यढाँचामा उल्लेख भएको मापदण्ड पुरा गरी पाल्पाका सबै सरकारी तथा निजी विद्यालयहरुले भौतिक रुपमै पठन–पाठन सञ्चालन गरेका छन् । कोभिड–१९ को त्रासका कारण गतवर्षको चैत्रदेखि विद्यालय बन्द रहेका थिए । तोकिएको सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न थालिएको जिल्लाका सरोकारवालाले बताएका छन् । जिल्लाका ग्रामीण भेगमा तिहार छठ पर्व लगत्तै विद्यालयहरुमा विद्यार्थीहरु भौतिक रुपमै उपस्थित भई पठन–पाठन सुरु भएको थियो, भने तानसेन नगरपालिकाले मंसिर २१ गतेदेखि विद्यार्थीहरुको पठन–पाठन भौतिक रुपमा सञ्चालन गरेको छ । तानसेन नगरपालिकाभित्र विद्यार्थीहरुलाई विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आलोपालो प्रणालीबाट पठन–पाठनको व्यवस्था गरिएको छ ।
तानसेनका सरकारी तथा निजी विद्यालयहरुले कक्षा १ देखि ४ सम्म एउटा सिफ्ट, कक्षा ५ देखि ७ सम्म एउटा सिफ्ट र कक्षा ८ देखि १० सम्म अर्काे सिफ्ट बनाएर पठन–पाठन सुरु गरेका छन् । विद्यालयमा भिडभाड नहोस् भनी जोर गते जोर कक्षा, विजोर गते विजोर कक्षा, एक दिन पठन पाठन, एक दिन गृहकार्य गरी पठन पाठन सुरु गरेको जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज ज्ञवालीले बताए । बालबालिकाहरुलाई कोभिड संक्रमण नहोस् भनी पिटी प्रदर्शन, प्रार्थना, साथीभाईसँग अंकमाल, हात मिलाउने, विद्यालयमा खाजा जस्ता कार्यक्रम गर्न तानसेन नगरपालिका शिक्षा शाखाले प्रतिवन्ध लगाएको छ । विद्यालयमा विद्यार्थी पुगेपछि तालिका अनुसार पठन–पाठन गराएर तुरुन्त विद्यार्थीलाई घर पठाउने व्यवस्था गरिएको छ । विगतमा अनलाईन मार्फत पठन–पाठन गराएपनि बालबालिकाहरुलाई प्रकृतिसँग संमायोजन गराउँदै भौतिक दुरी कायम गरेर पठन–पाठन सुरु गरेको सेन्ट कपितानियो स्कूलका शिक्षक तुल्सीराम पोखरेलले बताए ।
विद्यार्थीहरुलाई गेटमा ज्वरो चेकजाँच गरेर मात्र विद्यालय प्रवेश दिने, रुघाखोकी लागेका बालबालिकाहरुलाई विद्यालय प्रवेश नदिने, विद्यार्थीहरुले अनिवार्य मास्क तथा फेस सिल्डको प्रयोग गर्नुपर्ने, हातमा पञ्जा र सेनिटाइजर हुनुपर्ने जस्ता प्रावधान अनिवार्य गरिएको छ । भौतिक तथा सामाजिक दुरी कायम गरी, स्वास्थ्यका मापदण्ड अपनाएर, जोर विजोर प्रणालीबाट अभिभावकको समेत मञ्जुरीनामा लिएर, कम जोखिम भएका स्थानहरुमा पालिकाको नीति नियमभित्र रहेर जिल्लाका अधिकाश विद्यालयमा भौतिक तथा अनलाईन विधीबाट पठन–पाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका इकाई प्रमुख रमेशराज पौडेलले बताए । लामो समय घरमा बस्दा दिक्क भएका बालबालिका पनि विद्यालय खुलेपछि खुसी भएका छन् । बालबालिकाहरु रमाउँदै विद्यालयमा पुगेका छन् ।