Shittalpati
रोटरी क्लव पाल्पा तानसेनले भव्य रुपमा मनायो २५ औं स्थापना दिवस

पाल्पा, जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ पाल्पा तानसेनले भव्य रुपमा आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । छत्रराज शक्यको नेतृत्वमा २७ जना सदस्यहरुबाट स्थापना भएको क्लवले तानसेनमा भव्य समारोहकाबिच आफ्नो २५ औं वर्ष मनाएको हो ।

क्लवले केक काट्नुको साथै संस्थापक र क्लवमा महत्वपूर्ण योगदान पुर्‍याउने पदाधिकारीहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री विरबहादुर राना र क्लवका संस्थापक अध्यक्ष छत्रराज शाक्यले केक काटेर उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद रानाले समाज सेवामा क्लवले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले जिल्लाको सामाजिक, स्वास्थ्य शिक्षा, पर्यटन जस्ता क्षेत्रहरुमा क्लवले अनुकरणीय कार्य गरेकोमा प्रशंसा गरे । नेता राना भने “ क्लव एउटा साँघुरो घेरामा मात्र सिमित छैन्, यसको सञ्जाल अन्तर्राष्ट्रियस्तरमा समेत रहेकाले समाज रुपान्तरण र देशविकासमा ठूलो योगदान छ भन्ने हामी बुझेका छौं ।”

सांसद रानाले सामाजिक आर्थिक, धार्मिक विकासमा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरेर काम गर्न क्लवलाई आग्रह समेत गरे । उनले पाल्पाको रानीमहल क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटनको विकास विस्तार गर्ने कुरामा समेत क्लवले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । सांसद रानाले समाजमा थुप्रै क्षमतावान व्यक्तिहरु भएकाले तिनीहरुको पहिचान गरी क्लवमा आवद्ध गर्दै समाज सेवामा जोड्नुपर्नेमा समेत जोड दिए ।

क्लवका संस्थापक अध्यक्ष रो.छत्रराज शाक्यले  क्लवको इतिहासका बारेमा जानकारी गराउँदै निःस्वार्थ भावले समाज सेवामा क्लव समर्पित हुँदै आएको बताए । उनले भने “व्यक्तित्व, नेतृत्व विकास र समाजसेवामा क्लवले महत्वपूर्ण काम गर्दै आज यो अवस्थामा आएको छ । यसले गरेका हरेक रचनात्मक कामले खुसी लाग्छ ।” तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफु गाउँपालिकाको अध्यक्ष भए पनि क्लवको एउटा  सदस्य समेत रहेको बताए । उनले आफ्नो गाउँपालिकाको शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गरिदिन क्लवलाई आग्रह समेत गरे । वर्ष २०२५/०२६ का असाइन गर्भनर दिनेशमणी सुवेदीले २५ वर्षको यात्रासम्म आइपुग्दा क्लवले गरेका काम अत्यन्त लोभ लाग्दा रहेको बताए ।

उनले रोटरीको मूल्यमान्यतालाई क्लवले आत्मसाथ गर्दै आएकोमा खुसी व्यक्त गरे । क्लवका संस्थापक सचिव बुद्धिप्रसाद शर्माले क्लवले रजत महोत्सव मनाउन पाउनु नै यसको उपलब्धी रहेको बताए । उनले सिमित स्रोत साधनको प्रयोग गरेर क्लवले महत्वपूर्ण काम काम गर्दै आएको उल्लेख गरे । शर्माले अब दीगो विकासका लागि प्रभावकारी हुने कार्य गर्नुपर्नेमा जोड दिए । क्लवका अध्यक्ष रो. भिमबहादुर श्रेष्ठले क्लवले हालसम्म गरेका मुख्य उपलब्धीका बारेमा जानकारी गराएका थिए । उनले युनाईटेड मिसन अस्पताललाई ४ करोड २२ लाख लागतमा ‘फोहोर पानी उपचार युएमएच परियोजना’ निर्माण गरी हस्तान्तरण गरेको, बगनासकाली गाउँपालिकामा लिफ्टिङ खानेपानी योजना निर्माण, मिसन अस्पताललाई मोवाइल एक्सरे, मदनपोखरा वि ल्याण्ड स्कूललाई झ्यालमा सिसा राख्न सहयोग, बर्तुङ्गमा खानेपानी योजना, पूर्वी पाल्पामा खानेपानी योजना निर्माण, दमकडा माविमा स्कुल सर्पोट कार्यक्रम, धवल पुस्तकालयमा  डिजिटल लाइव्रेरी कम्प्युटर  सहयोग, मिसन अस्पतालमा मेडिकल सामान वितरण, तिनाउको एक विद्यालयमा शौचालय निर्माण, पूर्वी पाल्पामा सानो सिचाइँ आयोजना निर्माण लगायतका ठूला परियोजनाहरुको काम गरिसकेको बताए ।

क्लवले सोही अवसरमा संस्थापकहरु रो. छत्रराज शाक्य, रो. बुद्धिप्रसाद शर्मा, रो. प्रदिप प्रसाद उदय, रो. बंकीनचन्द्र खनाल, रो. विरेन्द्रकाजी शाक्य र अन्य पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो । क्लवका अध्यक्ष रो. भिमबहादुर श्रेष्ठको अध्यक्षता, सचिव रो. विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update