Shittalpati
कम्युनिष्टले जनभावना अनुसार काम नगरेकोमा चिन्ता व्यक्त

पाल्पा, पछिल्लो समय कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल तानसेन पाल्पाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालाको १०१ औ जन्मजयन्तीको अवसरमा आयोजना गरेको नेपालमा कम्युनिष्ट आन्दोलन र यसको भविष्य विषयक छलफल बहस तथा अन्तक्र्रियामा सहभागीहरुले कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

उनीहरुले नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धान्त विचार भन्दा पनि व्यत्तिगत गुठबन्धी, आ–आफ्नो स्वार्थका कारण जनताको भावना र चाहाना अनुरुप काम गर्न नसकेको आरोप लगाए । नेपालमा कम्युनिष्ट पाटीका नेताहरु सत्तामा नपुग्दा ठूला –ठूला कुरा गर्ने सत्तामा पुगेपछी गुठबन्धी र स्वार्थ केन्द्रित राजनीति गर्दा जनतामा निराशा बढ्दै गएको सहभागीहरुले बताए ।

नेपालमा नाम मात्रका कम्युनिष्ट, व्यबहारमा कम्युनिष्टको कुनै आचारण नभएका पार्टी तथा पात्रहरुको कारण कम्युनिष्टको संख्या दिनहुँ ओरालो लाग्दै गएको, प्रत्येक निर्वाचनमा कम्युनिष्टको मत लाखौले घट्दै गएको, नयाँ युवा पिढीलाई कम्युनिष्टको नाराले छुन नसकेको, कम्युनिष्ट नेताका व्यवहारले नेता देख्दा युवाले मुन्टो बटार्ने स्थिती आएको उनीहरुको भनाई छ । यही अवस्था रहेमा अबको १० बर्षिमा नेपालमा कम्युनिष्ट पार्टीको अवस्था दयनिय हुनमा सहभागीहरुले चिन्ता व्यक्त गरे । मुखले मात्र राम्रा कुरा गर्ने, व्यवहारमा लागु नगर्ने, सत्तामा जाने  नाममा शुसासन कायम नगरी भष्ट्रचारमा लिप्त हुने गरेका कारण कम्युनिष्टहरु बदनाम भएको बक्ताहरुले जोड दिए ।

कम्युनिष्ट पार्टीहरुमा एक पटक नेतृत्वमा पुगेपछि आफुमात्र सक्षम, राम्रो भन्दै अनन्तकालसम्म नेतृत्वमा रहने, नेतृत्व बाहिर भएपछी पाटी फुटाउने, कुनै पनि कम्युनिष्ट पार्टीहरु सिद्धान्त, विचार प्रति अडिग नभएको, व्यक्तिगत स्वार्थका लागि बर्ग दुस्मनसँग पनि घाँटी जोडाएर चुनाव, सत्ता, सरकारमा सहकार्य गर्ने प्रवृतिले नेपालमा दिनहुँ कम्युनिष्ट पार्टी कमजोर बन्दै गएकोले कम्युनिष्ट पार्टीका नेतृत्व वर्गले सोच्ने समय आएको नयाँ पुस्ताका कम्युनिष्ट  नेताहरुले धारणा राखे । नेपाली जनताले लामो समयसम्म कम्युनिष्ट पार्टीहरुलाई राम्रो मत दिएपनि जनताको विश्वास भने जित्न नसकेकोमा बक्ताहरुले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठानका सचिव गणेश ज्ञवालीले नेपालमा कम्युनिष्ट आन्दोलन र यसको भविष्य विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सचिव ज्ञवालीले वि.स. २००६ साल बैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि हालसम्मका विभिन्न आन्दोलन तथा गतिविधीहरुको नालीबेली सहित १४ वटा बुदाँमा समेटेर आन्दोलन र भविष्यको चर्चा गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका ज्ञवाली गैरे, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगर, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका अध्यक्ष विशाल दर्लामी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रतिष्ठानका संरक्षक अशोक कुमार शाही लगायतले पार्टी स्थापनाको लागि पुष्पलालले खेलेको भूमिका, नेपालमा कम्युनिष्ट पार्टीहरुमा एक आपसमा पद  र सत्ताको लागि लड्ने फुट्ने गरेकै कारण समस्या रहेको बताए ।

कम्युनिष्ट पार्टीहरु आ–आफ्नो नीति र सिद्धान्त अनुरुप चलेका छन् कि छैनन, जनताको नजरमा कम्युनिष्ट पार्टीहरुको मुल्याङ्कनको विषयमा बहस, अन्तक्र्रिया र छलफल गर्नको लागि प्रतिष्ठानले नेपालमा कम्युनिष्ट आन्दोलन र यसको भविष्यका विषयमा जिल्लाका कम्युनिष्ट पार्टीका नेताहरुलाई राखेर कार्यक्रम गरिएको अध्यक्ष गोविन्द भट्टराईले बताए । प्रतिष्ठानका अध्यक्ष भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बस्यालको स्वागत, कोषाध्यक्ष झपेन्द्र गहिरेको धन्यवाद ज्ञापन, सदस्य सन्तोष खनालको  सञ्चालनमा कार्यक्रम भएको थियो । पुष्पलालको जन्म विसं १९८१ असार १५ मा भएको थियो भने मृत्यु २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update