
रमेश विश्वकर्मा
गुल्मी । कतै तपाई छोटो समयका लागि काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न, यदि जाँदै हुनुहुन्छ भने कोरोना परीक्षणको रिपोर्ट लिएर मात्र जानु होला । अन्यथा १० दिन होमक्वारेन्टाईनमा बस्नुपर्नेछ, जसले गर्दा तपाइको १० दिनको अमूल्य समय त्यतिकै खेर जानेछ । जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि कडाई गरेसँगै जिल्लामा बाहिरबाट प्रवेश गर्नेहरुका लागि अनिवार्य पिसिआर रिपोर्ट चाहिने भएको हो । जिल्ला कोरोना रोकथाम तथा संकट ब्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनले यदि पिसिआर रिपोर्ट नभएमा अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको बताए ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्नका लागि जिल्लामा प्रवेश गर्ने सीमा नाकाहरु रुरुक्षेत्र गाउँपालिकाको रिडी, कालीगण्डकी गाउँपालिकाको हर्मिचौर, पुर्तिघाट, मुसिकोट नगरपालिकाको वामी, रेसुङ्गा नगरपालिकाको नेटा, मदानेको सौतामारे लगायतका स्थानहरुमा सुरक्षाकर्मीहरु परिचालन गरिने बताईएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै दुग्ध ब्यवसाय बिहान ९ बजेदेखि साँझ ६ सम्म, मासु–तरकारी र फलफूल पसलहरु बिहान ७ देखि साँझ ५ बजेसम्म, अन्य पसल उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालनमा रहने बताईएको छ । यस्तै सरकारी कार्यालय बैंक बित्तिय संस्थाले ५० प्रतिशत कर्मचारीहरु मात्र राखेर कार्य सम्पादन गर्ने निर्णय समेत बैठककले गरेको छ ।
होटल पार्टी प्यालेस/चिया पसल/रेष्टुरेण्टहरु नखोली तयारी वस्तु होम प्याकिङ्ग गरेर टेक वे मात्र गर्न पाउने, अटेर गरी खोलेमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने बताईएको छ । त्यस्तै सपिङ्ग मल, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, व्युटीपार्लर, स्पा, स्विमीङ पुल, जीम खाना, समुहमा खेलीने खेलकुद, पुस्तकालय, संग्रहालय आदि खोल्न नपाइने निर्णय गरेको छ । विभिन्न पसल, उद्योग व्यवसाय, बैक, वितीय संस्था सञ्चालन गर्दा सामाजिक दुरी र भौतिक दुरी कायम गर्ने सावुन पानीले हात धुने, स्यानिटाइजर र मास्क लगाउने व्यवस्था गर्नु पर्नेछ । औषधी पसल र पेट्रोल पम्प २४ सै घण्टा खुल्ला रहने छन् ।
सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकिय वस्तु वा सेवा अन्र्तगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, क्वारेन्टाईन, आइसोलेसन, निर्माण सामग्री, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, एम्वुलेन्स, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन, कृषि कार्य, पशु पालन, दाना ढुवानी अति आवश्यक सेवाका सवारी साधन सञ्चालन गर्ने गाडीमा भौतिक दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षाका शर्तहरु पालना गर्न आग्रह गरिएको छ । साझँ ८ बजेदेखि विहान ५ बजे सम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन संचालन नहुने । निजी सवारी साधन व्यक्तिको निजी प्रयोजनको लागि भएकोले निजी सवारी साधन (रातो प्लेट) ले यात्रुहरु वुक गरी सवारी भाडा लिएको पाइएमा प्रचलित कानुन वमोजिम कारवाही गरिने बताईएको छ । एम्बुलेन्सले विरामी र दुईजना कुरुवा बाहेक अन्य मानिसहरु बोकेको पाइएमा कानून बमोजिम कार्वाही गरिने । विरामी, कुरुवा, सुत्केरी, मृत्यु संस्कार, कार्यालयमा हाजिर हुन जानु पर्ने र हर्वाइ उडानवाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा र स्वीकृत हवाई टिकट पेश गरेको अवस्थामा मात्र काठमाडौं जानको लागि [email protected] मार्फत निवेदन र कागजात आएमा सहजीकरण गरिने बताईएको छ ।
पशु ढुवानी गर्दा पशु ढुवानीको मापदण्ड पुरा गरेमा मात्र ढुवानी गर्न दिने । नियमित चेकअप र औषधी लिन जिल्ला बाहिर जानेहरुको हकमा डाक्टरको प्रेस्कृप्सन अनिवार्य साथमा राख्नु पर्ने बताईएको छ । विभिन्न प्रकारका सम्मेलन गोष्ठी, तालिम, सेमिनार, मेला महोत्सव, जात्रा, भेला, जुलुस, जम्मा हुने र भिड भाड हुने जस्ता कार्यहरु नगर्ने । अत्यावश्यक काममा मात्र बाहिर निस्कने र निस्कदा आवश्यक कागजात/परिचय पत्र बोकेर हिड्ने निर्णय गरिएको छ ।
मृत्यु संस्कारमा जानेहरुलाई सहजीकरण गरिनेर मलामीको हकमा वढीमा २० जना मात्र जाने र मलामीले सामाजिक दुरी, मास्क, स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ । पूजा आजाको हकमा मन्दिर, मस्जिद, चर्च, गुम्वा, गुरुद्वारामा भेला नहुने घर भित्रै पूजा आजा गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । उद्योग कलकारखाना निर्माण लगायत अन्य व्यवसाय संचालनका लािग सकभर अन्यत्रबाट कामदार नल्याउने जिल्ला बािहरबाट कामदार ल्याउनु पर्ने अवस्था आएमा सम्वन्धीत पालिकाको सिफारीसमा तत्कालको RT-PCR Report (Negative) सहितका कामदार मात्र ल्याउने र निर्माणका कार्य गर्दा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी शर्त पालना गरेर जुन स्थानमा काम भईरहेको छ । सोही स्थानमै खाने, बस्ने क्वारेन्टिनको व्यवस्था गरी मात्र सञ्चालन गर्ने मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा पालना गरेको नपाईएमा त्यस्ता कार्य बन्द गर्ने प्रशासन कार्यालयले जनाएको छ । अन्य विषयको हकमा यस अघि नेपाल सरकार बाट जारी भएको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयबाट जारी सुचना बमोजिम हुने । यो निर्णय शुक्रबार राती १२ बजेदेखि भदौ १९ गतेसम्म लागू हुनेछ । यदि कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गरिने प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए ।