
रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा । तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४ दिन आइसोलेशनमा बसेका उनीहरुको परीक्षण नै गरिएको थिएन । उनीहरुलाई लक्षण नभएका कारण डिस्चार्ज गरिएको हो । अर्थात् उनीहरु घर जाँदा संक्रमित नै छन् कि निको भइसके भन्ने जाँच नै गरिएन । बिहीबार पनि रैनादेवी छहरा गाउँपालिका र निस्दी गाउँपालिकाका एक/एक जना गरी दुई जनालाई पीसीआर विधिबाट परीक्षण नै नगरी डिस्चार्ज गरिएको थियो । उनीहरुको डिस्चार्ज भएसँगै जिल्ला कोरोना मुक्त भएको छ । सबै संक्रमित डिस्चार्ज भई घर फर्किएसँगै जिल्ला कोरोना संक्रमण मुक्त भएको हो ।
जिल्लामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन् । जिल्लाले कोरोना संक्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ति नआएका कारण सक्रमण थपिएको छैन । जसले गर्दा संक्रमितको संख्यामा कमी आएको छ । जिल्लामा ३ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो । संक्रमित मध्ये ५ सय १५ जना पुरुष र ४६ जना महिला रहेका छन् । जिल्लामा अहिले आइसोलेशनमा १ जना पनि कोरोना सक्रमित विरामी नभएकाले आजको मितिसम्मलाई पाल्पा संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए । किन पिसिआर टेष्ट समेत नगरी घर पठाइयो त ? प्रमुख न्यौपाने भन्छन् ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन नै यही छ ।’ संक्रमित घर फर्किए पनि अहिले नै ढुक्क हुने अवस्था भने छैन । स्वास्थ्य मन्त्रालयले १४ दिनसम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेशनमा बसेका संक्रमितहरूलाई घर पठाउन निर्देशिका नै जारी गरेकाले जिल्लाका कोरोना संक्रमितलाई जाँचै नगरेर घर पठाईएकाले ढुक्क हुने अवस्था भने नरहेको हो । सुरुका दिनहरुमा लगातार दुई पटकसम्म कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गर्ने गरिएको थियो । तर अहिले कोरोना जाँचै नगरेर संक्रमितहरूलाई घर पठाउन थालिएपछि स्थानीयहरूमा कोरोना संक्रमणको त्रास झनै बढेको छ ।
जिल्लामा घर फर्किएका संक्रमित मध्ये धेरै जनाको परीक्षण नगरी पठाइएको हो । संक्रमितलाई चेकजाँचै नगरेर घर पठाइनु गैर जिम्मेवार काम भएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘कोरोना अझ फैलियोस् भन्ने नियत त राखिएन ? भन्ने आशंका गर्ने ठाउँ पनि सरकारको यो कदमले दिएको छ ।’ कोरोना परीक्षण बिनै घर फर्काइएकाहरूलाई कोरोना संक्रमणबाट उछितो रहेको भन्ने आधारै नरहने भन्दै अध्यक्ष थापाले उनीहरूकै कारण थप संक्रमण बढ्ने जोखिम सरकारले बढाईदिएको बताए । ‘जेकजाँचै नगरेर घर फर्काइएका संक्रमितहरूलाई कसरी कोरोना मुक्त भन्ने ?’ उनले भने ‘उनीहरूकै कारण अब गाउँ समाजमा कोरोना संक्रमण डढेलो जस्तै फैलिने खतरा बढेको छ ।’ अहिले कोरोना जाँचै नगरेर संक्रमितहरूलाई घर पठाउन थालिएपछि स्थानीयहरूमा कोरोना संक्रमणको त्रास झनै बढेको छ । जिल्लामा सबैभन्दा बढी कोरोना सक्रमणबाट पूर्वखोला गाउँपालिका प्रभावित बन्यो । पूर्वखोला गाउँपालिकामा ४ सय ३३ जनाको परीक्षण गरिएकोमा १ सय ६० जना सक्रमण देखिएको थियो । सबैभन्दा कम रिब्दीकोट गाउँपालिकामा सक्रमण देखियो । रिब्दीकोट गाउँपालिकामा १ सय २६ जनाको परीक्षण भएकोमा ५ जना संक्रमित देखिए । रामपुर नगरपालिकामा ५ सय ८७ जनाको परीक्षण गरेकोमा १ सय १७ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । माथागढी गाउँपालिका भित्र ३ सय २२ जनाको पिसिआर गरेकोमा ३० जनामा सक्रमण देखिएको थियो । रैनादेवी छहरा गाउँपालिकामा ६ सय ३२ जनाको परिआर परीक्षण भएकोमा ३९ जना सक्रमित देखिएको जिल्ला स्तरीय कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए ।
त्यस्तै रम्भा गाउँपालिकामा २ सय ५ जनाको परीक्षण भएकोमा ४४ जना सक्रमित देखिएका थिए । बगनासकाली गाउँपालिका ३ सय २१ जनाको परीक्षण भएकोमा ४२ जना पोजेटिभ, तिनाउ गाउँपालिकामा १ सय ९९ जनामा परीक्षण गरिएकोमा ८ जना सक्रमित, निस्दी गाउँपालिकामा ३ सय ३२ जनामा पिसिआर परीक्षण भएकोमा ९९ जनाको पोजेटिभ, तानसेन नगरपालिकामा ६ सय ३६ जनामा परीक्षण भएकोमा १४ जनामा मात्र संक्रमण देखिएको थियो । यसैगरी जिल्लाका अस्पतालहरुमा १ सय ६ जनाको परीक्षण भएकोमा ३ जनामा सक्रमण देखिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको वा नपैmलिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैंक तथा वित्तीय संस्थामा बसेर समुदायसँग दिनहँु संक्रमित व्यक्तिहरुको नमूना परीक्षण गरिएको छ । समुदायस्तरका १ सय १८ जनाको पिसिआर परीक्षण भएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।