
पाल्पा, निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा पाल्पाका ६ राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।
नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक राजेन्द्र बि क, राष्ट्रिय स्वतन्त्र पार्टी सह संयोजक सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुवँर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बिशाल दर्लामी र राष्ट्रिय जनमूक्ति पार्टीका प्रतिनिधि होमबहादुर थापाले शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै स्वमुल्याङ्कनको नाममा निर्वाचन आयोगले राजनीतिक दलको स्वायत्तता माथी हस्तक्षेपकारी कदम चालेको भन्दै आपत्ति जनाएका छन् ।
“आयोगले संघीय कानुनको दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा अलग कानुन मस्यौदा तयार गरेर संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने र राजनीतिक दललाई नियन्त्रण गर्ने प्रयास गरेकोमा हाम्रो असहमति छ । बहुदलीय लोकतन्त्रको मर्ममा आघात पु र्याउँदै दलहरूको आन्तरिक स्वायत्ततामा हस्तक्षेप गर्दै सत्तारुढ दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्नेअधिनायकवाद उन्मुख यो प्रवृत्ति अस्वीकार्य छ ” विज्ञप्तिमा भनिएको छ । उनीहरुले मस्यौदालाई अघि बढाउने कार्य तुरून्त रोक्न र संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गर्न निर्वाचन आयोगलाई विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन् ।