Shittalpati
स्तनपान कक्षविहीन पाल्पाका स्थानीय सरकार

पाल्पा, जिल्लाका चार वटा स्थानीय तह अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म यहाँका चार वटा स्थानीय सरकारले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।

जिल्लाका १० वटा पालिकामध्ये निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छैन् । ती पालिकाले साँघुरा ठाउँका कारण स्तनपान कक्ष स्थापना गर्न नसकेको जनाएका छन् । निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले पालिकामा ठाउँ अभावका कारण सबै कर्मचारी कोचिएर काम गर्नुपर्ने अवस्था रहेकाले स्तनपान कक्ष स्थापना गर्न कोठाको अभाव रहेको गुनासो गरे । उनले भने, “अहिले हामीले पोषणमैत्री वडा घोषणाको तयारी गरिहेका छौं । त्यसका लागि प्रत्येक वडाहरुमा स्तनपान कक्षा निर्माणको काम भइरहेको छ । अब छिट्टै पालिका भवनमा पनि जग्गाको व्यवस्था गरेर स्तनपान कक्ष स्थापना गर्ने योजना छ ।” उता पूर्वखोला गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्टार्फ नर्स चन्द्रा चलाउनेले पनि कोठाकै अभावमा स्तनपान कक्ष स्थापना गर्न नसकिएको बताइन् । यता रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले पर्याप्त ठाउँ हुँदा हुँदै पनि स्तनपान कक्ष निर्माणमा ध्यान दिएका छैनन् ।

यहाँ बनाएका केही पालिकामा भने व्यवस्थित छैनन्। रम्भा गाउँपालिकामा स्तनपानका लागि भनेर कक्ष स्थापना गरे पनि व्यवस्थित छैन । यहाँ पर्दाले बारेर राखिएको छ । कोठा  अभावका कारण स्कुलको एउटा कोठालाई बारेर कक्ष स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्यालले बताए । माथागढी गाउँपालिकामा पनि सेवाग्राहीले सहजै देख्न र जान सक्ने अवस्थामा छैन् । यहाँ साँघुरो कोठा र अध्यारो भएकाले व्यवस्थित गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । दुधेबालक च्यापेर हिँड्नुपर्ने बाध्यतामा रहेका महिला सेवाग्राहीलाई स्तनपान कक्ष नहुँदा कामले पालिका जाँदा निकै असहज हुने सेवाग्राही बताउँछन् । पालिकामा सेवा लिन जाँदा खुला स्थानमा असहज रूपमा स्तनपान गराउनुपर्ने बाध्यता रहेको रिब्दीकोट सिरुखर्ककी शान्ता बरालले बताइन् । यहाँका तानसेन नगरपालिका, रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रम्भा गाउँपालिकाले मात्रै स्तनपान कक्ष स्थापना गरेका छन् । सरकारी कार्यालयमा सेवा लिन आउँदा काखे नानी लिएर आउने महिलाले दुध खुवाउन सहजताका लागि स्तनपान कक्ष निर्माण गर्नुपर्ने ऐन जारी भएको छ । सुरक्षित मातृत्व तथा प्रजनन्र स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घ संस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि  स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा स्पष्ट व्यवस्था भए पनि पाल्पामा सेवाग्राहीको भिडभाड हुने सार्वजनिक स्थलमा स्तनपान कक्षको स्थापना गरेर स्तनपानलाई संरक्षण तथा संवद्र्धन गर्ने काम भएको देखिँदैन । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । नवजात शिशुको रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्वपूर्ण मानिन्छ । स्तनपानको महत्वबारे जानकारी दिन तथा कार्यस्थलमा स्तनपानका लागि सुरक्षित र सहज वातावरण निर्माण गर्न सरकारले हरेक वर्ष अगष्ट १ देखि ७ तारिकसम्म विश्व स्तनपान दिवस सप्ताहव्यापी रुपमा मनाउने गर्दछ । यस वर्ष पनि स्तनपान सप्ताह मनाइएको छ, तर सरकारी कार्यालयलाई नै सरकारले स्तनपानमैत्री बनाउन सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update