
अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । वर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सघंले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सघंसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको त्यहीँ छन् । शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाका मुख्य समस्या हुन् । रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि ती प्रभावकारी कार्यान्वयनका अभावले अलपत्र परेका छन् । मुलुकमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौं युवा विदेशिनु परेको छ । यो अत्यन्त दुखको कुरा हो ।
राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य युवामा रहेको हुन्छ । राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर सरकारले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएको हो । सरकारले निर्माण गर्ने कानुन, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुनुपर्दछ । उनीहरूलाई उचित शिक्षा दिक्षा, स्वदेशमै रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । यसो गर्न सके मात्र युवा दिवसले सार्थकता पाउँदछ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्दछ ।