
पाल्पा, पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको रथ यात्राले एक सय वर्ष तय गरेको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्राले एक सय वर्ष तय गरेको हो ।
यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट निकाल्ने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको हो ।
श्रीनगर सिद्धि विनायक सहयोग समितिले रथयात्रा एक सय वर्ष पुरा गरेको अवसरमा शनिबार संस्कृति र संरक्षण, जात्रा र मन्दिर निर्माणमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ । समितिले पूर्खौली पञ्चेबाजा समूह, थिमे बाजा समूह, भजन खल, रथ बोक्दै आएका कुमाल समुदायका युवा, रथ यात्रामा सहयोग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय, गुठीयार, पाल्पा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, तानसेन गुठी र मन्दिरको जीर्णोद्धार, संरक्षण तथा सम्भार, अक्षकोष स्थापना, सरसफलाई तथा रथयात्रा सञ्चालनमा सहयोग गर्ने सामाजिक संघ संस्था , व्यक्तिहरुलाई एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, समितिका अध्यक्ष केदारलाल श्रेष्ठ लगायतले सम्मानित व्यक्ति तथा संस्थालाई प्रमाणपत्र र खादाले सम्मान गरेका थिए । सम्मान गर्दै प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले तानसेनको संस्कृति संरक्षणमा श्रीनगर सिद्धि विनायक सहयोग समितिले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले त्यसतर्फ तानसेन नगरपालिकाले ध्यान दिर्दै आएको र आगामी दिनमा समेत दिने बताए । प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय कला संस्कृति सबैको साझा भएकाले त्यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति श्रेष्ठले गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेको बताए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेको उनको भनाई छ । सरकारबाट सहयोग नभए पनि स्थानीय भक्तजनहरुको सहयोगबाट हरेक बर्षा जात्रा र नियमित पुजा हँुदै आएको गुठियार श्रेष्ठले बताए ।
समितिका अध्यक्ष केदारलाल श्रेष्ठले गणेशको रथ निकाल्ने परम्परालाई विगतदेखि नै निरन्तरता दिर्दै आएको बताए । कार्यक्रममा तानसेन – ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, समितिका संंस्थापक सदस्य तथा लायन्स लाकौल आँखा अस्पतालका सभापति बुद्धिप्रसाद शर्मा, भगवती गुठीका अध्यक्ष अशोकमान महर्जन, तानसेन गुठीका अध्यक्ष सकुन्तला ब्रजाचार्य, पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले समितिले तानसेनको संस्कृति संरक्षणमा खेल्दै आएका भूमिका प्रशंसनिय रहेको बताए । समितिका अध्यक्ष केदार लाल श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बसन्त सिमगैडाको स्वागत, सचिव दिपेन्द्र थैवको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा तानसेन गुठी काठमाडौंले रथ ओढाउनका लागि एक लाख दश हजारको छाता समितिलाई हस्तान्तरण समेत गरेको छ ।