Shittalpati
मानव बेचबिखन र समस्या

मानव ओसार–पसार तथा बेचबिखन मानवता र मानव सभ्यताको विरुद्धको जघन्य अपराध हो । यो विश्वव्यापी रुपमै एक समस्याका रुपमा रहेको छ । विभिन्न अध्ययन अनुसार हातहतियार र लागुपदार्थ ओसार–पसारपछि विश्वमा अर्को समस्या मानव बेचबिखन पर्छ । यो समस्या नेपालमा पनि पछिल्ला दिनमा निकै जर्जर रूपमा देखा परेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस मनाइए पनि यो समस्या जस्ताको त्यस्तै रहेको छ । आज पनि यो दिवस मनाउन लागिएको छ । तर यो दिवस औपचारिकतामा सिमित बन्न पुगेको छ । नेपालमा विभिन्न प्रयोजनका लागि सदियौंदेखि यो अपराध हुँदै आइरहेको छ । गरिबी, सूचनाको अभाव, लैंगिक हिंसा, महत्वाकांक्षा जस्ता कारणले मानिस बेचबिखनको जोखिममा छन् । यसलाई न्यूनीकरण गर्न सरकारले प्रभावकारी रणनीति बनाउन सकेको छैन । बनेका गतिविधिलाई रोक्न बनाइएका कानुनी व्यवस्थाको कार्यान्वयन पक्ष पनि फितलो छ ।

कुनै पनि व्यक्तिलाई जबर्जस्ती तथा धोकाद्वारा शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्य मानव बेचबिखन तथा ओसार–पसार हो । देशी विदेशी तत्व नेपालमा अत्यन्तै सुरक्षित तरिकाले यो अपराधमा क्रियाशील छन् । सरकारले मानव ओसार–पसार तथा बेचबिखनलाई सामाजिक अपराधको कानुनी मान्यता दिएर विभिन्न नीति निर्माण र नियम–कानुन बनाए तापनि नियन्त्रणमा कमी भने आउन सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । नियम–कानुनहरु व्यवहारिक रुपमा लागु गरेर नियन्त्रण गर्ने विषयमा सरकार पक्षको अत्यन्त फितलो र गैर जिम्मेवारीपन देखिन्छ । विभिन्न गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक पार्टी तथा तिनका महिला संगठनहरु यस विषयमा केही क्रियाशील रहेतापनि योजनावद्ध राष्ट्रिय नीतिको अभावमा प्रभावकारी नियन्त्रण हुन सकेको छैन । जसले गर्दा नेपालमा मानव ओसार–पसार तथा बेचबिखन समस्या राष्ट्रिय समस्या बनेको छ । यसर्थ समस्या समधानका लागि हरेक स्थानीय सरकारले मानव बेचबिखन बारे विशेष अभियान सञ्चालन गर्न नीति तथा कार्यक्रम बनाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update