
गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । यो सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भए पनि पछिल्लो समय पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि तराईमा गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् । हिन्दू धर्मावलम्बीहरूको जीवनमा जसरी दसैं, तिहार, तीजजस्ता पर्वको महत्व बढी हुन्छ, त्यसरी नै सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वलाई लिने गरिन्छ । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । अहिले तराईका अन्य जिल्लाहरुमा पनि मनाउन थालिएको छ । जसलाई दसैं, तिहारभन्दा पनि धूमधामसँग मनाउने गरिन्छ । गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुका साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहिआएको छ । गौरा पर्वमा भाद्र कृष्ण षष्ठीदेखि अष्टमीसम्म व्रत बस्ने परम्परा प्राचीनकालदेखि नै चलिआएको छ । प्राचीन कालमा राजाहरूले ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ हेतु निराहार रही व्रत बसेको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र प्राप्त गरेकी थिइन् र सोही पुत्रको तेजले राजाको आँखाको ज्योति गुमेर अन्धो भई माफी माग्नुपरेकाले ब्राह्मणी अर्थात् गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो भन्ने मान्यता रहेको छ । यही विश्वासले अष्टमीसम्म महिलाहरू गौराको व्रत बस्ने गरेका छन् ।
गौरा पर्व एकताको पर्व हो । काम विशेषले बाहिर अर्थात् विदेश गएका व्यक्तिसमेत घरमा फर्किने र आपसी सद्भाव वृद्धि गरी सुख शान्तिको कामनासहित एक आपसमा बन्धुत्व कायम गरी आपसी सद्भाव वृद्धिमा टेवा पुर्याएको छ । पार्वती शिवको नामसँग जोडिएको यस पर्वमा विशेष गरी पार्वतीको पूजा गरिन्छ अर्थात् पार्वतीको कठोर तपस्यापश्चात् शिवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक विश्वाससमेत यसमा जोडिएको छ । सप्तमीमा गौरादेवीलाई मन्दिरमा भित्र्याएर प्रसादको रूपमा महिलाले दुबधागो भगवानलाई चढाई अभिषेकका साथ लगाउने चलन रहेको छ । दुबधागो पुरुषको यज्ञोपवित धारण गरे जस्तै हो । गौरा पर्वले धार्मिक आस्था आपसी सद्भाव बढाउन र शिव पार्वतीको पूजा गरी सुख शान्ति प्राप्त हुने विश्वास रहेको छ । तसर्थ यो पर्वलाई सबैको पर्व राष्ट्रिय पर्वको रूपमा मनाउँदै यसको महत्वलाई अझ सबै माझ पु¥याउन जरुरी छ ।