Shittalpati
अबको प्राथमिकता कृषि

लकडाउनकाका कारण सबैभन्दा ठूलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आँकलन गरेको छ । विकसित राष्ट्रहरुलाई यस विषम परिस्थितिबाट पहिलाकै अवस्थामा फर्काउन निकै ठूलो स्रोत, पर्यत्न र समय आवश्यक पर्ने भएतापनि तुलनात्मक रुपमा हाम्रो जस्तो विकासशील देशले यस महामारीको समुचित व्यवस्थापन गर्दै समयमै योजनावद्ध कार्य प्रारम्भ गर्न सकेमा बाह्य मुलुकहरुसँग निर्भर नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर, स्थायी र दिगो अर्थतन्त्रको जग हाल्ने अवसरका रुपमा अगाडि बढाउन सकिन्छ । नेपाल कृषि प्रदान देश हो । कृषिका लागि नेपालमा उपयुक्त वातावरण रहेको छ । कृषिको उच्चतम प्रयोग गरी देशको आर्थिक समृद्धि हासिल गर्न सकिनेमा कुनै दुई मत छैन ।

कोरोना महामारीका कारण कृषि क्षेत्रमा प्रभाव पारे पनि त्यसको दीर्घकालिन योजना बनाएर अगाडि बढ्न सकेको खण्डमा आर्थिक वृद्धि हासिल गर्न सकिन्छ । खेती योग्य धेरै जमिन बाँझै छन् । तिनीहरुको उच्चतम प्रयोग गर्न सक्नुपर्छ । धेरै नेपाली युवाहरु विदेशी भूमिका गएका छन् । अब ती युवाहरु स्वदेशमै फर्किएर कृषि व्यवसायमा लाग्न जरुरी छ । त्यसका लागि सरकारले युवाहरुका लागि उचित वातावरण सिर्जना गर्न जरुरी छ । कोरोनाको त्रासका कारण धेरै युवाहरु रोजगारी गुमाएर गाउँ फिर्ता भएका छन् । अब उनीहरुका लागि सरकारले कृषिमार्फत रोजगारमा लगाउन दीर्घकालिन योजना ल्याउनु पर्दछ । युवावर्ग लक्षित कार्ययोजना सरकारले दिन सक्नुपर्छ । कोरोना महामारीकै नाममा भए पनि हामीलाई अवसर दिएको छ । यसलाई उपयोग गर्दै नेपाली युवाको कर्मठता आफ्नै माटोको प्रेममा लगाउनु पर्छ । अर्थात् कृषि प्रधान र आत्मनिर्भर नेपाली अर्थतन्त्रलाई पुनर्जीवित गर्नुपर्छ । त्यसका लागि कृषि कर्म र पेशा लक्षित योजना निर्माण गर्दै सेवा सुविधा उपलब्ध गराउनु पर्छ । कृषिको व्यवसायीकरण सँगसँगै प्रवद्र्धधनका कार्यक्रम ल्याइनु पर्दछ । सरकारले महाविपत्तिको सामना गर्दै वर्तमानको स्वाबलम्बन, आत्मनिर्भर र सुदृढ आर्थिक एवम् सामाजिक जीवन निर्माण गर्ने आवश्यकता पूरा गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update