Shittalpati
बाढीपीडित विष्ट परिवारको दुःखमा काँग्रेस पाल्पाको साथ

पाल्पा, भोटेकोशी बाढीमा ज्यान गुमाएका तानसेन नगरपालिका–१०, सुनडाँडाका दिपेन्द्र विष्टको परिवारलाई नेपाली काँग्रेस पाल्पाले आर्थिक सहयोग गरेको छ । बाढीमा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार विष्टको निधन भएपछि शोकमा रहेको परिवारलाई भेट्न कांग्रेस पाल्पाको टोली सुनडाँडा पुगेको हो । 

पार्टी सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले परिवारजनसँग भेट गरी विष्टको निधनप्रति दुःख व्यक्त गर्दै नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । विष्टको निधनले परिवारमा परेको पीडाप्रति दुःख व्यक्त गर्दै कांग्रेस नेताहरूले विपद्का कारण सिर्जित कठिन परिस्थितिमा परिवारलाई एक्लो महसुस हुन नदिने बताएका थिए । उनीहरूले परिवारको दुःखमा पार्टीको साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

विष्टको निधनपछि उनकी श्रीमती र करिब डेढ वर्षीया छोरीसहितको परिवार शोकमा छ । कर्तव्यमा रहेका बेला बाढीमा परी ज्यान गुमाएका विष्टको निधनले परिवारसँगै आफन्त र स्थानीयस्तरमा समेत दुःखको अवस्था सिर्जना भएको छ । परिवारलाई भेट्न पुगेको टोलीमा कांग्रेस पाल्पाका सचिव सन्तोषकुमार थापा मगर, सचिव सुनिता अधिकारी, कोषाध्यक्ष मोहन श्रेष्ठ, जिल्ला सदस्य सुरेश बोहोरा ,गिरिजा गैरे, नेताहरु शिवचन्द खनाल, शान्ति झेडीलगायत सहभागी थिए । त्यस्तै, नेपाली कांग्रेस तानसेन–१० का वडा सभापति दीपक कार्की, भोजराज भट्टराईलगायत नेता तथा कार्यकर्ताको पनि सहभागिता रहेको थियो । बाढी, पहिरोलगायत विपद्बाट प्रभावित परिवारलाई राहत तथा सहयोग आवश्यक रहेको उल्लेख गर्दै कांग्रेस पाल्पाले पीडितको दुःखमा स्थानीय तहमा समेत सहकार्य र सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update