हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार मनाइने अन्तर्राष्ट्रिय बुवा दिवस केवल शुभकामना आदान–प्रदान गर्ने दिन मात्र होइन, परिवार, समाज र राष्ट्र निर्माणमा बुवाले निर्वाह गर्ने भूमिकाको स्मरण गर्ने महत्वपूर्ण अवसर पनि हो । आमाको ममताजस्तै बुवाको त्याग, संघर्ष, अनुशासन र मार्गदर्शनले सन्तानको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्छ । त्यसैले बुवा दिवसले बुवाप्रति कृतज्ञता व्यक्त गर्नुका साथै पितृत्वको महत्वलाई पुनः स्मरण गराउँछ ।
परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ ।कर्म दिने बुबालाई भगवानसरह मान्नुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । आफूलाई जन्म दिई हुर्काइ, पढाई सक्षम बनाउने बुवालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको कर्तव्य हो । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बुवालाई भेट्न पुग्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । अघिपछि बुबाआमालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने संस्कार छ, जुन गलत हो । यसो गरिनुहुँदैन ।
सन्तानप्रति उत्तरदायी, स्नेही र नैतिक मार्गदर्शक बन्ने प्रेरणा यस दिवसले दिनुपर्छ । डिजिटल युगमा पुस्ताबीचको दूरी बढ्दै गएको चर्चा भइरहेका बेला परिवारभित्र संवाद, विश्वास र समयको महत्व अझ बढेको छ। सन्तानलाई गुणस्तरीय समय दिनु, उनीहरूको भावना बुझ्नु र सही दिशानिर्देश गर्नु आजका बुवाहरूको प्रमुख दायित्व बनेको छ । आर्थिक सफलताभन्दा पनि असल संस्कार, नैतिक मूल्य र आत्मविश्वासको विकासमा बुवाको भूमिका निर्णायक हुन्छ । अन्ततः, अन्तर्राष्ट्रिय बुवा दिवस बुवाप्रतिको सम्मान व्यक्त गर्ने औपचारिक अवसर मात्र होइन ! पितृत्वको महत्व, जिम्मेवारी र सामाजिक योगदानलाई आत्मसात गर्ने दिन हो। यस अवसरमा सबै बुवाहरूको त्याग, समर्पण र ममताप्रति सम्मान व्यक्त गर्दै जिम्मेवार र संवेदनशील पितृत्वको संस्कृतिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता आवश्यक छ । यही नै बुवा दिवसको वास्तविक सन्देश हो ।
