Shittalpati
एक महिनामा दुई हजार नागरिकता प्रदान


घोराही (दाङ),  दाङ जिल्ला प्रशासन कार्यालयबाट गएको एक महिनामा दुई हजारभन्दा बढीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रशासकीय अधिकृत विजय गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जेठ महिनामा दुई हजार ६४६ जनालाई नागरिकता प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमार्फत ती नागरिकता वितरण गरिएको हो । 

सोही अवधिमा एक हजार ४९९ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने ३२ जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ । कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार घोराहीबाट ८९६, तुलसीपुरबाट एक हजार ६७ र लमहीबाट ६८३ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायतका सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको जनाएको छ । त्यस्तै जेठ महिनामै एक हजार २१७ जनालाई ई–पासपोर्ट वितरण गरिएको छ । त्यस घोराहीबाट ४१५, तुलसीपुरबाट ५१० र लमहीबाट ३०२ जनाले ई–पासपोर्ट सेवा लिएका छन् । राष्ट्रिय परिचयपत्रतर्फ पनि सेवाग्राहीको आकर्षण बढ्दै गएको देखिएको छ । जेठ महिनामा सात हजार ८९७ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ । अधिकृत गौतमका अनुसार घोराहीमा तीन हजार २२०, तुलसीपुरमा तीन हजार २४२ तथा लमहीमा एक हजार ४३५ जनाको दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update