पाल्पा, सरकारले सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि निरन्तरता दिने भएको छ । शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको घोषणा गरेका छन् । उनले सूचना तथा प्रविधि क्षेत्रका लागि पाँच अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले सार्वजनिक सूचना, जनचेतना तथा राज्यका विभिन्न कार्यक्रम नागरिकसम्म प्रभावकारी रूपमा पु¥याउन लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता दिएको हो ।
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय गरेको सरकारले लोककल्याणकारी विज्ञापन रोक्न शक्ने आशंका गरिएको थियो । यस कार्यक्रममार्फत सञ्चार संस्थालाई आर्थिक सहयोग पुग्ने तथा सूचना प्रवाहलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । सञ्चार तथा सूचना प्रविधि क्षेत्रका सरोकारवालाले सरकारले लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार यसले आर्थिक संकटबाट गुज्रिरहेका सञ्चार संस्थालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । बजेटमा सूचना प्रविधिको विकास, डिजिटल सेवा विस्तार, साइबर सुरक्षाको सुदृढीकरण तथा सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजनालाई प्राथमिकतामा राखिएको छ । साथै, डिजिटल पूर्वाधार विस्तार गर्दै सूचना प्रविधिमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले अघि सारेको छ ।


