Shittalpati
‘लुम्बिनीको माटो, समृद्धिको बाटो, अभियान घोषणा

देवदह (रूपन्देही), लुम्बिनी विश्व शान्ति मञ्चले २५७०औँ बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत भैरहवा–लुम्बिनी क्षेत्रमा दुई हजार ५७० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष वासु गौतमले बताए ।

अभियानको घोषणा सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको छ । आज विद्यालय परिसरमा १०८ वटा विभिन्न फलफूलका बिरुवा रोपिएको गौतमले जानकारी दिनुभयो । बाँकी बिरुवा अबको दुई महिनामा रोप्ने कार्यक्रम रहेको उनको भनाइ छ । भैरहवाको पुरानो विद्यालय भैरहवा नमूना माविमा लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना तथा विभिन्न सङ्घसंस्था र बैङ्क तथा वित्तीय संस्थाको सहयोगमा कार्यक्रम गरिएको उनले बताए । सोही अवसरमा विद्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । त्यस्तै, शुक्रबार नै लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालय, खुनगाईमा १०० वटा बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए । “फलफूलका विरुवा रोप्ने गरेका छौँ, यस्तो कार्यक्रम गर्न पाउँदा निकै खुसी छौैँ,” उनले भने ।

लुम्बिनी विश्व शान्ति मञ्चले मुलुकका विभिन्न स्थानमा गरी १० लाख वटा बिरुवा रोप्ने र हुर्काउने अभियानमा रहेको बताउनुभयो । हालसम्म एक लाख ९५ हजार ७०० बिरुवा रोपिसकिएको उहाँले जानकारी दिए । ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले लुम्बिनी विश्व शान्ति मञ्चले विद्यालय प्राङ्गणमा वृक्षरोपण तथा रक्तदान जस्तो पुनित कार्य गरेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमितकुमार गुप्ताले शान्त वातावरणमा सभ्य रूपमा कार्यक्रम भएको बताए ।

गोलिगढ टोल सुधार समिति सिद्धार्थनगर–९ का निवर्तमान अध्यक्ष युवराज पाण्डेले लुम्बिनी विश्व शान्ति मञ्चले वातावरणको क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको बताए । “यहाँहरूले टोल सुधार समितिले गरेको कामको उच्च मूल्याङ्कन गर्नुभएको छ । यसले हामीलाई काम गर्ने थप ऊर्जा प्राप्त भएको छ,” उनले भने । रिसाइल टू रिभाइभका कोषाध्यक्ष रमेश खड्काले लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताए । आफ्ना बुबा स्व चन्द्रबहादुर खड्काको सम्झनामा भैरहवा नमूना माविमा रु ५१ हजार १११ को अक्षयकोष स्थापना गरेको उनले बताए । विराटनगर निवासी रमेश खड्का हाल अष्टे«लियामा बस्दै आएका छन । कार्यक्रममा गोलिगढ टोल सुधार समितिलाई टोलको सरसफाइमा सहजता प्रदान होस् भन्ने उद्देश्यले लुम्बिनी विश्व शान्ति मञ्चले सरसफाइ सामग्री हस्तान्तरण गरेको थियो । त्यस्तै टू द लुम्बिनी (साईकलमा लुम्बिनी जाने टोलीलाई) स्वागतसमेत गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update