पाल्पा, आजभोलि स्कुल तथा मठमन्दिरमा हरियो ड्रेसमा बालबालिका देखिन्छन् । हरियो ड्रेसमा सजिएका बालबालिका लाइन मिलाउनेदेखि हातमा झाडु बोकेर सरसफाइ गरेको देखिन्छ । झट्ट हेर्दा कतिपयले यी बालबालिका को हुन् भन्ने थाहा नहुन सक्छ तर ती बालबालिका हुन् स्काउट विद्यार्थी । सबै विद्यार्थीमा यसो गरिएको पाइँदैन् । स्काउट भन्नेबित्तिकै कतिपयले मन्दिरको भिडभाडमा लाइन मिलाउने भनेर मात्र बुझ्छन् तर स्काउट त्यतिमै मात्र सीमित छैन ।
कोही समस्यामा छन् र असहज स्थिति झेलिरहेका छन् भने उनीहरूलाई सहयोग गर्न उनीहरू तत्पर हुन्छन् । तिनै विद्यार्थीहरु यति बेला विपद्को समयमा प्रकार्य र राहतमा जुट्ने तयारीका लागि साहसिक गतिविधिमा संलग्न हुन थालेका छन् । पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यार्थीहरुलाई स्काउट साहसिक क्रियाकलापमा सहभागी गराइएको छ । विपद्को समयमा प्रतिकार्य र सहयोगका लागि क्षमताको विकास गर्ने उद्देश्यले स्काउटमा आवद्ध नगर भित्रका विद्यार्थीहरुलाई ३ दिने स्काउट साहसिक क्रियाकलापमा सहभागी बनाइएको हो । आइतबार देखि शुरु भएको सो कार्यक्रममा रामपुर नगरपालिकाभित्रका ११ विद्यालय ३ सय ३० जना विद्यार्थीहरुको सहभागिता रहेको छ । स्थानीय स्काउट कार्यालय रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा सहासिक क्रियाकलाप भएको हो । विपदको समयमा समस्याको समाधान र राहतका लागि विद्यार्थीहरुमा गराइएको साहसिक क्रियाकलापले महत्वपूर्ण भूमिका निर्वाह गर्ने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । उनले भने “विद्यार्थीहरुको अनुशासन र नेतृत्व क्षमता विकाससँगै सामाजिक भावनाको विकासमा स्काउटको भूमिका महत्वपूर्ण रहन्छ ।” स्काउटको माध्यमबाट विद्यार्थीहरुलाई नैतिकवान, चरित्रवान र व्यवहारिक बनाउन आवश्यक रहेको उनले उल्लेख गरे । थापाले भने “अनुशासनको विकास,चरित्रवान, नैतिकवान र सफल समाज निर्माण गरि समुन्नत रामपुर निर्माणका लागि स्काउट आवश्यक छ ।” उनले विपद्को समय वा अन्य हरेक समयमा मानिसलाई सहयोग गर्ने अर्धसैनिक संस्था स्काउट भएको भन्दै सकारात्मक सोँच र उच्च आत्मबलका साथ नगरवासीलाई सहयोग गर्न आग्रह समेत गरे ।
स्काउटले नैतिकसँगै व्यवहारिक ज्ञान प्रदान गर्ने भन्दै यसको माध्यमबाट समृद्ध रामपुर निर्माणका लागि सकारात्मक सोँचका साथ लाग्नु पर्नेमा नगर प्रमुख थापाले जोड दिए । उपप्रमुख बालकुमारी थापाले विद्यार्थीहरुको व्यक्तित्वसँगै नेतृत्व क्षमता विकासका लागि सबै विद्यालयमा स्काउट सञ्चालन गर्नु पर्ने बताइन् । उनले नगरपालिका भित्रका सबै विद्यालयमा स्काउट सञ्चालन र व्यवस्थापनका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । साथै उनले ३ दिने तालिममा सहभागी विद्यार्थीहरुलाई साहसका साथ सुरक्षित तरिकाले साहसिक क्रियाकलापमा सहभागी हुन आग्रह गरिन । कार्यक्रममा स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाहीले तालिमका क्रममा सिकाइने १० वटा गतिविधि विद्यार्थीहरुले राम्रोसँग सिकेमा विपद्को समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने र सम्भावित क्षति कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ३ दिन सम्म चल्ने सहासिक क्रियाकलाप आज सकिदै छ । समापनका दिन स्काउटको क्याम्प फायर हुने स्थानीय स्काउट रामपुरका सदस्य सचिव विकल काफ्लेले जानकारी दिए । साहसिक क्रियाकलापमा ओमेगा जम्प, कमाण्डो ब्रिज, नेट क्रसिङ, भर्टिकल क्लाईम्बिङ, रक क्लाईम्बिङ, र्याप्लिङ डाउन, सुपरम्यान जम्प, टायर क्रसिङ, र रोप क्रसिङका सहासिक क्रियाकलाप हुने छ । सहासिक क्रियाकलापको सहजिकरण स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही र रोजीना शाही सहित १६ जनाको टोलीले गरिहेका छन् । स्थानीय स्काउट रामपुरका प्रमुख आयुक्त सागर श्रेष्ठको अध्यक्षता, स्काउट सदस्य सरस्वती श्रेष्ठको स्वागतबाट अर्का सदस्य पुष्पराज ढकालको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।


