पाल्पा, जिल्लाको सदरमुकाम तानसेनका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको आतंक बढेको छ । यहाँका मुख्य सडक, सहायक सडक, र गल्लीहरुमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी तानसेनका कैलाशनगर, बतासेडाँडा, भगवतीटोल लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
सवारीसाधन र मानिसको आवातजावत कम हुने समयमा ती भुस्याहा कुकुरको गतिविधि बढ्ने गरेको छ । हिँडिरहेको मान्छेलाई टोक्ने, झम्टिन खोज्ने, मोटरबाइक या गाडीको पछिपछि लागेर दुःख दिने समस्या भोग्न सबै जसो बाध्य छन् । यहाँ दैनिकजसो बाटोमा हिड्नेहरुलाई टोक्न थालेपछि त्रास बढेको छ । कैलाशनगरका दीपक अधिकारीले राति १० बजेपछि बिहानसम्म बाटो–बाटोमा चोक चोकमा भुस्याहा कुकुरको बिगबिगी बढेको बताए । उनले कुकुर यसरी बढी देखिएपछि एक्लै हिँड्न कठिन हुने गरेको बताए । बजारभरि भुस्याहा कुकुर आउन थालेपछि अत्यावश्यक काम परेको समयमा पनि बाहिर निस्कन कठिन हुने गरेको उनको भनाई छ । गत साता कैलाशनगरका अनिल लिगल मनिङवाक गरी घर फर्कंदै थिए । आफ्नै सुरमा हिँडिरहेका लिगलको हातमा केहीले काटेझैँ चसक्क ग¥यो । फर्केर हेर्दा देखे, कुकुरले उनलाई टोकिसकेछ । कुकुरले टोकेपछि उनी एन्टिरेबिज खोप लगाउन पाल्पा अस्पताल पुगे तर त्यहाँ स्वास्थ्यकर्मीले खोप छैन भनेपछि तत्काल मिसन अस्पताल पुगेर खोप लगाए । एक हप्ता अघि मखनटोलकी शान्ता श्रेष्ठलाई पनि सडकमा हिँडिरहेका बेला अचानक कुकुरले टोक्यो ।
“बाटोमा हिँड्दै थिएँ, कताबाट आयो कताबाट, टोकेपछि मात्र थाहा पाएँ,” श्रेष्ठले भनिन्, “टोकेपछि रेबिजको सुई लगाउन अस्पताल पुगे ।” पछिल्लो समय तानसेनमा कुकुरको आतंक बढेकाले नियन्त्रण गर्न जरुरी रहेको पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुदयाल सैजुले बताए । उनले केही दिन अघि आफुहरु पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन सकेर नास्ता खान बतासेडाँडा जाने बेलामा केही उद्योगी व्यापारिहरुलाई कुकुरले टोकेको समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । सैजुले दैनिक जसो दुई तीन जनालाई कुकुरले टोक्ने गरेको उल्लेख गरे । बजारमा छाडा कुकुर बढ्दा कुकुरको टोकाइका बिरामी समेत बढ्ने गरेको अस्पतालहरु बताउँछन् । तर जिल्ला अस्पतालमा कुकुरले टोक्दा लगाउने खोप नहुँदा स्थानीयले अन्यत्र गएर महँगोमा खोप लगाउन बाध्य भएका छन् ।


