Shittalpati
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष होस्

प्रतिक्षारत फागुन २१ को समय आजदेखि समाप्त हुँदैछ । आज देशैभर एकै साथ प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन लागेको छ । यो निर्वाचन सामान्य परिस्थितिमा भएको होइन । भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई एकाएक नयाँ निर्वाचनतर्फ धकेलेको हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणालीको मागसहित उठेको जेनजी आन्दोलनले सत्ता र व्यवस्थाप्रति गम्भीर प्रश्न उठायो । त्यसकै परिणामस्वरूप अहिलेको संक्रमणकालीन अवस्था जन्मिएको हो । यही पृष्ठभूमिमा हुन गइरहेको निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई पुनः स्थायित्व दिने एउटा निर्णायक अवसर पनि हो । अर्कोतर्फ जनताले आफ्नो प्रतिनिधि चुन्ने अवसर पनि हो आजको निर्वाचन । जनताका प्रतिनिधि चुन्ने माध्यम निर्वाचन बाहेक अर्को छैन । पहिलो पटक मतदान गर्ने होस् वा पुरानै मतदाता सबैले इमानदार, क्षमतावान्, दूरदृष्टि भएको र सिर्जनशील नेतृत्व खोजिरहेका छन् । 

उनीहरू आफूले भोगिरहेका ठूला समस्याको समाधान गरिदिने, देशलाई विकास, सुशासन र समुन्नतितर्फ लैजान सक्ने प्रतिनिधि चुन्न चाहन्छन् । यस पटक मतदाताहरू साँच्चै देशलाई सबै हिसाबले माथि उकास्ने नेतृत्व चाहिरेका छन् । हामी सार्वभौम सत्ता भएको मुलुकका नागरिक हौं । मतदान हाम्रो सार्वभौम अधिकार हो । निर्वाचन आफ्नो इच्छा जाहेर गर्ने माध्यम हो । मतदानमार्फत नै हामी हाम्रा प्रतिनिधि छान्छौं । कस्तो कानुन तथा नीति निर्माण गर्ने प्रतिनिधि छान्ने हाम्रै हातमा छ । देशलाई कस्तो भविष्य दिने भन्ने हाम्रै मतले निर्धारण गर्छ । आजको दिन भविष्य निर्धारण गर्ने दिन पनि हो । त्यसैले सबैले शान्ति र भयरहित वातवरणमा मतदान गर्न पाउनुपर्छ । यो सबै मतदाताको मौलिक अधिकारको कुरा हो । विगतका केही निर्वाचनहरु धाँधली र त्रासको वातावरणमा भएका घटनाहरु पनि छन् । तर यस पटक त्यस्तो नहोस् । सबैले शान्त र ढुक्क भएर आफ्नो प्रतिनिधि चु्न्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ । निर्वाचन आयोग पनि यो विषयमा गम्भीर बनेको छ । यो आफैमा सकरात्मक छ । आयोगले बनाएका आचारसंहिता सबैले पालन गरौं । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्वाचनमा खटिएका निर्वाचन अधिकृतदेखि सबै कर्मचारीहरू इमानदार हुनुपर्छ । आस्थाको आधारमा कहीँकतै भेदभाव गर्नुहुँदैन । राजनीतिक दल, निर्वाचनमा खटाइएका कार्यकर्ता, स्वयम्सेवकहरूले पनि आ–आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गरौं । यसो गर्न सकियो भने निर्वाचन शान्त र स्वच्छ बन्न सक्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update