Shittalpati
गणित र विज्ञानको नतिजा सुधार्न पाल्पा आवासीयको रचनात्मक प्रयास

तानसेन (पाल्पा),  विश्वभर गणित र विज्ञानको महत्व र महिमा जति नै भए पनि यसलाई विद्यार्थीमाझ सहजै सजिलो महसुस गर्न र गराउन सकेको अवस्था छैन । यी दुवै विषयलाई सबैभन्दा कठिन विषयको रुपमा स्वीकारिएको दुर्भाग्यपूर्ण अवस्थाबाट विश्व नै मुक्त छैन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच सबैभन्दा कठिन विषय कुन हो ? भनेर प्रश्न गर्दा अधिकांशको उत्तर एउटै आउँछः गणित र विज्ञान । नेपाली विद्यार्थीहरुको सानो समूहमा मात्र गणित, विज्ञान लोकप्रिय छ तर पनि सामुदायिक र केही संस्थागत विद्यालयमा यो गणना अत्यन्तै न्यून छ । सामुदायिक विद्यालयका विद्यार्थीका लागि यी विषय भूतको घर भएको छ, जसलाई उनीहरु सम्झन समेत चाहँदैनन् । यी विषयका शिक्षकहरु सबैभन्दा धेरै दुःख गर्छन् । गणित – विज्ञानका तरिका, सूत्र, सिद्घान्तहरु निकै सिकाउने गर्छन् तर पनि परीक्षामा प्रायः विद्यार्थीहरु यी विषयमा नै अनुत्तीर्ण हुन्छन् ।

एस.इ.इ मा विद्यार्थीलाई उत्तीर्ण गराउने ठेक्काको सबैभन्दा ठूलो ठेकेदार तिनै शिक्षक नै हुन्छ तर पनि अनुत्तीर्ण विद्यार्थीहरुमा अनिवार्य रुपमा यी विषय लागेकै हुन्छ । यी विषयको नतिजा सुधार गर्नतर्फ न सरकारको ध्यान जान सकेको छ न त सम्बन्धित निकायको नै । तर पाल्पाको एक निजी तथा आवासीय विद्यालयले भने गणित र विज्ञान विषयको नतिजालाई सुधार गर्न र यसतर्फ विद्यार्थीहरुलाई आकर्षण गराउन रचनात्मक प्रयास गरेको छ । तानसेनमा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयले गत वर्षदेखि आफ्नो वार्षिक उत्सवको अवसर पारेर जिल्लाभरका विद्यार्थीहरुलाई सहभागी गराई गणित र विज्ञान विषयमा जिल्लास्तरीय रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि विद्यालयले ४६ औं वार्षिक उत्सवको अवसरमा सोमबार प्रतियोगिता सञ्चालन गर्‍यो । जहाँ १४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीमा गणित र विज्ञानप्रतिको रुचि बढाउने, आत्मविश्वासी बनाउने र बौद्धिक क्षमताको अभिवृद्धि गरी नजिता सुधारमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल गोपाल पि.सी.ले जानकारी दिए । उनका अनुसार २०८१ सालदेखि प्रतियोगितालाई निरन्तरता दिर्दै आइएको हो । विद्यालयहरुले कक्षा कोठामा सिकाउँदै आए पनि अतिरिक्त क्रियाकलापमार्फत रचनात्मक ढंगले विद्यार्थीहरुले छिटो सिक्न सक्ने विश्वास लिइएको प्रिन्सिपल पि.सी.ले बताए ।

प्रतियोगितामा पहिलो लिखित राउन्ड राखिएको विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक क्षितिज नेपालले बताए । उनका अनुसार उक्त राउन्डमा १ घण्टाको समयभित्रमा प्रत्येक टिममा संलग्न २ जना सहभागी मिलेर ५० वटा बहुवैकल्पिक प्रश्नहरू समाधान गर्नुपथ्यो । प्रतियोगीले क्यालकुलेटरको प्रयोग गर्न पाएका थिए । त्यस राउन्डबाट छानिएका ६ टिमको बिचमा स्टेज अन क्विज सञ्चालन  गरिएको थियो । प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूले मात्र भाग लिएका शिक्षक नेपालले बताए ।  सम्मिलित प्रश्नहरूका लागि कक्षा ९ र १० को गणित र विज्ञानलाई मुख्य आधार मानि बनाउनुको साथै विभिन्न आइक्यु प्रश्न, दैनिक जीवनमा प्रयोग हुने विषयवस्तुलाई गणित र विज्ञानसँग सम्बन्धित गराई प्रश्नहरू प्रतियोगीलाई सोधिएको थियो ।

प्रतियोगितामा सेन कपितानियो प्रथम

प्रतियोगितामा सेन कपितानियो बोर्डिङ स्कूल प्रथम, जनता मावि दोस्रो र माउन्ट भ्याली तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई शिल्ड, मेडल, पाँच हजार नगद , प्रमाण पत्र, दोस्रो हुनेलाई मेडल, ३ हजार नगद , प्रमाण पत्र र तेस्रो हुनेलाई मेडल, दुई हजार नगद , प्रमाण पत्रको व्यवस्था गरिएको विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक नेपालले बताए । त्यस्तै प्रतियोगितामा देववाणी संस्कृत तथा साधारण मावि चौथौ, सीता मावि पाँचौं र न्यूहोराइजन मावि छैठौं भएका छन् । गत वर्ष बेथल बोडिङ्ग स्कुल प्रथम भएको थियो ।

यस्तै विद्यालयले सोमबारदेखि खेलकुद सप्ताह समेत सुरु गरेको छ । ४६ वटा बेलुन उडाएर संस्थाका उपाध्यक्ष बुद्धी प्रसाद शर्मा, विद्यालयका प्रिन्सिपल गोपाल पि.सी.ले संयुक्तरुपमा सप्ताहको शुभारम्भ  गरेका हुन् । विद्यालयले माघ २५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाउने  विद्यालयका सहायक प्राचार्य सुमन न्यौपानेले  बताए । विद्यालयको प्रशासन सहायक भवानी शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update