काठमाडौँ, नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा.चन्द्र भण्डारी र डा. सुनील शर्मा पनि विशेष महाधिवेशनका पक्षमा उभिएका छन् । विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र चर्कँदै गएको विवाद विभाजनतर्फ उन्मुख हुन थालेपछि उनीहरू खुलेर विशेष महाधिवेशनका पक्षमा उभिएका हुन् ।
शनिबार काठमाडौँको बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले विशेष महाधिवेशनलाई टकरावको माध्यम होइन, पार्टीलाई एकताबद्ध गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । “हामी कुनै हालतमा पार्टी विभाजन हुन दिँदैनौँ,” भण्डारीले भने, “यो विषयलाई टकराव होइन, निकासको रूपमा लिनुपर्छ । विशेष महाधिवेशनबाट सङ्कल्प प्रस्ताव पारित गरेर पार्टीलाई एकताबद्ध बनाउने दिशामा जानुपर्छ ।” त्यस्तै डा शर्माले पनि आफूहरू पार्टी विभाजन रोक्न दिनरात खटिरहेको बताए । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटघाट गरी पार्टीपंक्ति उत्साहित हुने गरी निकास निकाल्ने प्रयास भइरहेको जानकारी दिए । आइतबारदेखि शुरू हुन लागेको विशेष महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्न डा भण्डारीले डा. शर्मासहित पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।


-1762576335.jpg)