पाल्पा, आज अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन १३ औं ‘नेपाली टोपी दिवस’ मनाइँदै छ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । पाल्पासहित देशभर दिवस हर्सोउल्लासका साथ मनाउन लागिएको छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएको छ ।
नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । बितेको १२ वर्षमा अनेकौं आरोह, अवरोह र विचार विमर्शहरु गरेर पार गरियो । तर अझै पनि टोपी दिवसको विषयमा थुप्रै प्रश्न र आलोचनाहरु आइरहेका छन् ।
नेपाली मौलिक संस्कृतीसँग जोडिएको टोपी नेपालीको सान र मानको प्रतिक समेत हो । तर यही टोपीको प्रयोग भने हिजो आज आधुनिकतासँगै हराउन पुगेको छ । तिहारमा उपहार दिंदा टोपीको विकल्पमा अन्य रुप आएका छन् । यसले पनि टोपीको प्रयोग विस्तारै हराउन थालेको महसुस गर्न थालिएको छ । टोपीको प्रयोग घट्दै गए पनि यसको पहिचान भने नेपालीले विर्सिएका छै्रनन् । टोपीको पहिचान कायम राख्नकै लागि सामाजिक सञ्जालबाट अभियान सूरु भएको हो । तर दिवसका दिन सामाजिक सञ्जालमा देखिएका कतिपय दृष्यहरु राष्ट्रियताप्रति ओतप्रोत भएर राखिएको देखिन्छ भने कतिपय दृष्यहरु देखाउनकै लागि पोष्ट गर्ने गरिएको साहित्यकार शिविका बस्नेत बताउँछिन् । अघिपछि टोपी नै नलगाउने व्यक्तिले वर्षको एक दिन टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्नुले टोपीको अस्तित्व र पहिचानलाई स्वीकार गरे पनि त्यसको प्रयोगमा बेवास्त गरेको उनको बुझाई छ । नेपालीको पहिचानका रुपमा रहेको ढाका टोपी आधुनिकतासँगै हराउन थालेका बेला टोपी दिवस मनाउनु आफैमा राम्रो रहेको सामाजिक व्यक्तित्व सुरेश कर्मचार्य बताउँछन् । उनी भन्छन् “पहिले –पहिले बाबु बाजेले ढाका टोपी र दौरासुरुवाल लगाउने चलन थियो तर अहिले त्यो विस्तारै हराउदै गएको छ ।” एक दिन टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीरहरु राख्दैमा पहिचान कायम हुन्छ भन्नु हाँस्यस्पद रहेको कर्मचार्य बताउँछन् । उनी भन्छन् “साच्चिकै पहिचानलाई कायम राख्ने नै हो भने टोपी वर्षमा एक पटक होइन सधै भरि नै लागाउनुपर्छ ।”
टोपी दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्नेमध्ये प्रायःले यसलाई नेपाली कला, संस्कृति र मौलिकता जोगाउने अभियानका रूपमा लिने गरेका छन् । डा. बाबुराम भट्टराईको सरकाले २०६८ सालमा राष्ट्रिय पोशाकलाई हटाईदिए पछि राष्ट्रिय भावले ओतप्रोत भएका युवामा राष्ट्रियता जागेको थियो । विगतमा औपचारिक कार्यक्रम गरी दिवस मनाइए पनि यस वर्ष कोभिडका पछिल्ला वर्षमा भने हुन छोडेका छन् । ढाका टोपीको इतिहासलाई हेर्दा भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्लादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् ।


-1762576335.jpg)