कुनै पनि निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने विधि र प्रक्रियाबारे मतदातालाई जानकारी गराउन सूचना सामग्री तथा कार्यक्रमसम्बन्धी जानकारी प्रवाह गर्ने कार्यलाई मतदाता शिक्षा भन्ने गरिन्छ । यसलाई निर्वाचनसम्बन्धी मतदाता सचेतना कार्य पनि भनिन्छ । यसमा मतदातालाई निर्वाचन प्रक्रिया, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, उम्मेदवार, राजनीतिक दल लगायतका विषयमा जानकारी दिने उद्देश्य हुन्छ । तर मतदाता शिक्षा नेपालमा अझै पनि कमजोर अवस्थामा रहेको महसुस गर्न सकिन्छ । जसले गर्दा निर्वाचनमा मत बदर हुने सङख््या बढिरहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ स्वयं जनप्रतिनिधिको समेत मतपत्र बदर हुने गरेको अवस्था छ । लोकतान्त्रिक निर्वाचन प्रणालीमा यस्तो स्थितिलाई सबल पक्ष मानिँदैन ।
कतिपय मतदाताहरुमा मतदाता शिक्षा नहुँदा हरेक पटकको निर्वाचनमा मत बदर हुने गरेको पाइन्छ । यो अत्यन्त दुखको कुरा हो । मतदान गर्नु आम नेपालीको नैसर्गिक अधिकार पनि हो । मतदान सही तरिकाबाट गरे मात्र मतदान गरेको कदर हुन्छ । मतदान नै सही तरिकाले भएन भने, मत नै बदर भयो भने त्यसको कुनै महत्व हुँदैन । वर्तमान अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति तोकेर तयारी अगाडि बढाएको छ । विगतमा जस्तै यस पटक पनि मतदाता शिक्षाको अभावमा मत बदर नहोला भन्न सकिदैन । किन भने सरकारले मतदाता शिक्षा प्रदान गर्ने सवालमा खासै ध्यान दिएको छैन् । मतदाता शिक्षा आजको अनिवार्य आवश्यकता पनि हो । निर्वाचन हुने मिति, समय र स्थान, सही तरिकाले मत संकेत गर्ने तरिका, मत बदर हुने अवस्था, मतदाताले पालन गर्नुपर्ने आचारसंहिता र मतदाताको जिम्मेवारी, कुन निर्वाचनमा कति उम्मेदवारलाई मत दिन सकिने हो सो र मताधिकार प्रयोग गर्ने सिलसिलामा आउन सक्ने व्यवधान र सो निराकरणका उपाय लगायत विषय मतदातालाई जानकारी गराइनु पर्छ । यसो भयो भने मात्र निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुन सक्छ । यसर्थ निर्वाचन हुनुपूर्व आम मतदातालाई मतदाता शिक्षा दिन अपरिहार्य छ ।

