Shittalpati
चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा, सदरमुकाम भैरहवाका नजिकै भएर पनि स्वास्थ्य सेवा–सुविधाबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको संख्या दिनानुदिन भयावह बन्दै गएको देखिएको छ।

मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु लागेको छ। शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको आँखा उपचार शिविरमा लुम्बिनी नेत्रालयका डा। दीपेन्द्र यादवले उनलाई तत्काल शल्यक्रियाको सिफारिस गरे। मोतियाबिन्दु शल्यक्रियामा १० देखि १५ हजार रुपैयाँसम्म खर्च हुन्छ, तर शिविरमार्फत निःशुल्क उपचारको व्यवस्था थियो। तर साथियाले शल्यक्रिया गर्न मानेनन्।
“श्रीमान् भए यस्तो समस्या भोग्नुपर्दैनथ्यो, घरमा कसैले हेरचाह गर्ने मान्छे छैन,” उनको गुनासो थियो। उनीसहित धेरै बिरामीको समस्या केवल रोग वा पैसाको अभाव मात्र नभई उपचारपछिको स्याहार गर्ने कोही नहुनु हो। यसले देखाउँछ कि स्वास्थ्य सेवाको पहुँच पु(याउनु मात्र पर्याप्त छैन, विशेषगरी एकल तथा वृद्धवृद्धाका लागि सामाजिक र भावनात्मक साथ उत्तिकै महत्त्वपूर्ण छ।

डा। यादवका अनुसार मर्चवार क्षेत्रमा आँखासम्बन्धी समस्याको अवस्था अत्यन्त गम्भीर छ। शिविरमा आएका बिरामीमध्ये ९० प्रतिशतमा मोतियाबिन्दु र केहीमा टेरिजियम पाइएको छ। एक दिनमै ६ सयभन्दा बढीले आँखा जाँच गराएका थिए, जसमा अधिकांश मोतियाबिन्दु पीडित थिए। भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल, लुम्बिनी नेत्रालयलगायतका सुविधा सम्पन्न अस्पताल भए पनि नजिकैको मर्चवारमा यस्तो समस्या देखिनु सरोकारवालाको उदासिनताको उदाहरण भएको विशेषज्ञहरूको टिप्पणी छ।

डा। यादवका अनुसार उपचार खर्च गाउँलेका लागि ठूलो रकम भएकाले धेरैले निःशुल्क शिविरको पर्खाइ बस्न बाध्य हुन्छन्। खराब सडक, दुर्गमता र नियमित स्क्रिनिङको अभाव पनि समस्या बढ्नुका कारण हुन्। उनका अनुसार ५०–६० वर्ष उमेर समूहमा मोतियाबिन्दु बढी देखिन्छ र ५५ वर्षभन्दा माथिकालाई शल्यक्रिया अनिवार्य हुन्छ। महिलामा यो समस्या अझ बढी देखिएको छ। लुम्बिनी नेत्रालयका डा। हीरा शाहका अनुसार लुम्बिनी प्रदेशभर ३० हजारभन्दा बढीमा मोतियाबिन्दु समस्या देखापरेको छ। विशेषगरी रुपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा यसको अवस्था झनै भयावह रहेको उनले बताए। सचेतना अभाव, परीक्षणको कमी र उमेर बढ्दै जाँदा समस्या देखिनु प्रमुख कारण रहेको उनको भनाइ छ।

रोटरी क्लबका अध्यक्ष विष्णु शर्माका अनुसार १०औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको शिविरबाट समस्या अपेक्षाभन्दा धेरै गम्भीर रहेको देखिएको छ। “यो क्षेत्र बजार नजिकै भएर पनि सुविधा नपुगेको विकट बस्तीजस्तै छ,” शर्माले भने। क्लबले यस क्षेत्रमै २५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको छ, तर एकै क्षेत्रबाटै त्यत्तिभन्दा धेरै बिरामी भेटिनु स्थिति कति जटिल छ भन्ने प्रमाण भएको उनले बताए। अध्यक्ष शर्माले मोतियाबिन्दु निवारणलाई अब प्राथमिकतामा राखिएको बताउँदै सरकारको तत्काल ध्यान आवश्यक रहेको उल्लेख गरे। रोटरीले पहिले पोलियो उन्मूलनलाई प्रमुख एजेन्डा बनाएझैं अब मोतियाबिन्दु निवारणमा पहल बढाइने उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update