Shittalpati
अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएकाहरुलाई सकस

पाल्पा, जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गता भएकाको दुखेसो छ ।
आवाज उठ्न थालेको वर्षौं भइसक्दा पनि यहाँ स्थानीय सरकारले अपाङ्गमैत्री भौतिक संरचना अझै तयार गर्न सकेका छैनन् । सरकारी सेवाहरू दृष्टिविहीन तथा अपाङ्गतामैत्री गर्ने विषयमा यहाँका स्थानीय सरकारले बेवास्ता गरेका छन् । उनीहरुले स्रोतसाधनको अभाव देखाउँदै सेवा प्रवाहमा बेवास्ता गरेका हुन् ।यहाँका स्थानीय तहमा यसअघि निर्माण भएका भवन र शौचालय कुनै पनि अपाङ्गतामैत्री छैनन् । जसले गर्दा यी कार्यालयमा सेवा लिन पुग्ने गरेका आपाङ्गता भएका सेवाग्राहीले अन्य नागरिक सरह सेवा लिन समस्या भएको गुनासो गर्ने गरेका छन् । पालिकाहरुमा सेवा लिन जाँदा अपाङ्गता मैत्री भवन र शौचालय नहुँदा जहिले पनि अफ्ठ्यारो व्यहोर्नु परेको अपाङ्गता भएका व्यक्तिहरूको भनाइ छ । रिब्दीकोट गाउँपालिकाका–४ रानीठाटीका गकुलसिं कुंवरका दुई वटै खुट्टा चल्दैनन् । ८ वर्षअघि रुखबाट लडेर उनी शारीरिक अपाङ्ग भएका थिए । उनले सरकारी सेवा लिन कार्यालयमा जाँदा होस् वा सवारी साधानमा यात्रा गर्दा धेरै समस्या झेल्नुपरेको गुनासो गर्छन् । अपाङ्गताको पीडा अपाङ्गताले नै बुझ्छन् र यसका लागि आवाज आफैंले उठाउनुपर्ने उनले बताए । कुंवरले भने, ‘सम्बन्धित निकायमा बारम्बार ढोका ढक्ढकाउँदा पनि अपाङ्गतामैत्री संरचना निर्माण हुनुपर्ने र गाडीहरुमा यात्रा गर्दा सहज गरिदिनुपर्ने मागको सुनवाइ हुँदैन । बोल्न सक्नेको त केही कुरा सुनिँदैन भने निमुखाहरू अझ कति पीडित होलान् ?’ सानैमा लडेर कम्मरबाट तल दुवै खुट्टा नचल्ने तानसेन–६ की सुमित्रा कुमाल पनि अपाङ्गता परिचय पत्र लिन तानसेन नगरपालिकामा पुगिन् । Þवीलचियरको सहारामा हिड्नुपर्ने उनलाई दाईले बोकेर कार्यालय प्रमुखसम्म पु¥याए । काम सकेर बाहिर आउँदा पनि उनलाई बोकेर ल्याइयो, तर घरसम्म भने दाईले नै गाडीमा राखेर पु¥याए । ‘दैलौमै सिंहदरबार आयो भन्छन्, सजिलै सेवा पाइन्छ भन्थे’, सुमित्राले भनिन्, ‘हाम्रा लागि त केही पनि आएन, नगरपालिकामा सेवा लिन जाँदा धेरै कष्ट पार गर्नुपर्छ ।’ स्थानीय सरकारमा जनप्रतिनिधि आएपनि आफूहरु जस्ता अपाङ्गता भएकाहरुका लागि सहजै सेवा पाउने अवस्था नभएको उनको गुनासो छ । कार्यालयमा गएर नगर प्रमुखलाई भेट्न पनि अरुको पिठ्युँमा बुई चढेर जानुपर्ने बाध्यता रहेको सुमित्राले एनजेडीसँगको कुराकानीमा दुःखेसो पोखिन् । अपाङ्गतामैत्री भवन नहुँदा नगरपालिकामा सेवा लिन पुग्ने अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्ने गरेका छन् । तानसेन नगरपालिका पूरानो संरचना हो । यसमा २०४० सालताका निर्माण भएको भवन छ । यहाँ नगरप्रमुख तेस्रो तल्लामा बस्छन् ।

उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत दोस्रो तल्लामा बस्छन् । जसोतसो कार्यालयभित्र पुगे पनि माथिल्लो तल्लामा जान अपाङ्गता भएकालाई समस्या  हुने गरेको छ ।तानसेन नगरपालिका मात्रै होइन यहाँका रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, माथागढी, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा पनि उस्तै समस्या रहेको छ । अपांगता भएकालाई कार्यालय प्रमुख, जनप्रतिनिधि भेट्न सक्ने अवस्था छैन । अधिकांशका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीयको कक्ष दोस्रो तल्लामा छ । बगनासकाली गाउँपालिका र पूर्वखोला गाउँपालिका (दुवैको नयाँ भवन बनेपछि) भने लिफ्टको व्यवस्था छ । लिफ्ट नै भए पनि अपांगता भएकाहरूका लागि अपांगमैत्री संरचना नभएपछि एक वा अन्यलाई भेट्न जान समस्या हुने गरेको छ । नयाँ संरचना निर्माण गरिएको रामपुर नगरपालिकामा पनि जान सकस छ ।  सीमित स्रोतसाधनबाटै सरकारी सेवा अपाङ्गतामैत्री रूपमा प्रदान गर्न सकिने भए पनि सरकारले संवेदनीशलता नदेखाएको सिर्जनशील अपाङ्गता स्वावलम्वन केन्द्र तानसेन, काजी पौवाका अध्यक्ष सन्दिप भट्टराईको भनाइ छ । ‘हामीले उठाएका यी विषय बहसको मात्रै बन्नु अपाङ्गताप्रति राज्यको विभेद हो’, उनले गुनासो गरे । सार्वजनिक संरचना र स्थानीय सरकार अपाङ्गतामैत्री नहुँदा सेवा लिन जाँदा अपाङ्गता भएकाहरुले सास्ती खेप्नु परेको भट्टराईले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update