Shittalpati
लकडाउनमा फोन परामर्श गर्दै बेस नेपाल

पाल्पा, नवलपरासी (पूर्व) तथा नवलपरासी (पश्चिम) जिल्ललामा कार्यरत बनाएको सामाजिक संस्था बेस नेपालले कोभिड १९ लाई लक्षित गर्दै बन्दाबन्दी सुरु भएदेखि असार १ गते सम्ममा आफ्ना फिल्ड कर्मचारीहरु मार्फत पाल्पा जिल्लाका २८ हजार ९ सय १५ घरधुरीमा फोन सम्पर्क गरी हजार दिनका आमा तथा कोभिड १९ बाट प्रभावित परिवारलाई परामर्श सेवा उपलब्ध गराउदै आएको छ ।

नेपालले निस्दीमा ३ हजार ६ सय ११, रामपुरमा २ हजार ७ सा १८, पूर्वखोलामा २ हजार ६ सय ४४, रम्भामा २ हजार ५ सय २८, माथागढीमा ३ हजार ४ सय ५६, तानसेनमा २ हजार ७ सय १२, तिनाउमा २ हजार ८ सय ३, रिब्दीकोटमा २ हजार ९ सय ७७ र रैनादेवी छहरामा २ हजार ८ सय ३१ घरधुरीमा परामर्श सेवा उपलब्ध गराएको हो ।

संस्थाले २ हजार ४ सय १० जना गर्भवती तथा ६ हजार ८ सय ५० जना दुई वर्ष मुनिका बालबालिकाका आमाहरुलाई बन्दाबन्दीले उनीहरुको खानपान, स्याहार तथा स्वास्थ्य सेवाको पहुंचमा पारेको असर तथा जटिलताका विषयमा ध्यान दिनुपर्ने विषयका बारेमा फोन मार्फत परामर्श गरिएको संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बताए । परामर्शको क्रममा २८ हजार ९ सय १५ घरधुरी मध्ये ८ सय ७० घरहरुमा विदेशबाट आएका परिवारका सदस्यहरु भेटिएको र उनका परिवारलाई समेत कोभिड १९ को संक्रमणबाट जोगिने उपायका बारेमा जानकारी गराइएको निर्देशक पाण्डेले जानकारी दिए ।

३ हजार ५ सय ७६ जना गर्भवती तथा १४ हजार ४ सय ७८ जना स्तनपान गराईरहेका आमाहरुलाई उनीहरुको पोषण तथा स्वास्थ्यका विषयमा फोनमार्फत म्यासेज पठाईएको बेस नेपाल/सुआहारा कार्यक्रमका फिल्ड संयोजक दिनेश घिमिरेले बताए । परामर्शका क्रममा १ सय ७५ जनालाई ज्वरो आएको, ४३ जनालाई खोकी लागेको र ८ जनालाई स्वास प्रश्वासमा समस्या देखिएको पनि उनले बताए ।

बेस नेपालका फिल्डकर्मचारीहरुले मुख्यरुपमा कोभिड १९ को संक्रमणबाट बच्न हजार दिनका आमा तथा तिनका परिवारले विशेष सावधानी अपनाउने र मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने,कोभिड १९ को संक्रमण भए वा नभए पनि नियमित गर्भ जाँच गर्ने, स्वास्थ्य तथा पोषण सेवाहरु लिँदा कोभिड १९ संक्रमण रोकथामका उपायहरु अपनाउने, हरेक दिन आइरन फोलिक एसिड चक्कीसेवन गर्ने र आइरन तत्व पाइने खानेकुराहरु जस्तैः गाँढा हरियो रंगका सागपातहरु, मासु, अण्डा, माछा, दूध आदि नियमित खानामा समावेश गर्न गर्भवती महिलाहरुलाई प्रोत्साहित गरिएको बताइएको छ ।

यस्तैगरी स्तनपान गराउने आमाहरुले कोभिड १९ को संक्रमण शंका गरिएको वा पुष्टि भएमा पनि सामान्य अवस्थामा जस्तै स्तनपानलाई निरन्तरता दिने (जन्मेको १ घण्टाभित्र जतिसक्दो चाँडो स्तनपानको सुरुवात गर्ने, ६ महिनासम्म आमाको दुधमात्रै खुवाउने र ६ महिना पछि पुरक खानाका साथै स्तनपानलाई कम्तिमा २ बर्षसम्म निरन्तरता दिने र घरपरिवारका सदस्यहरुले हजार दिनका आमाहरुलाई विशेष सहयोग गर्ने, यदि (स्तनपान गराइरहेकी) आमामा कोभिड १९ संक्रमणको शंका गरिएको छ वा पुष्टि भएको छ र क्वारेन्टाइन वा आइसोलेसनमा राखिएको छ भने पनि शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुने र मास्क लगाएर स्तनपान गराउने जस्ता विषयमा परामर्श गरिएको थियो ।

यस अवधिमा जिल्लाभरका क्वारान्टाइनमा ९जना गर्भवतितथा १५ जना दुई वर्षमुनिका बच्चाका आमाहरु क्वारान्टाइनमा रहेका थिए ।क्वारेनटाइनमा रहेका हजार दिनका आमा र तिनका बच्चाहरुको पोषण तथा स्वास्थ्यमा विशेष ख्याल गर्न बेस नेपालले सबै स्थानीय तहहरुसंग समन्वय गरेको बताएको छ । पूर्वखोला, निस्दी, रैनादेवीछहरा तथा रम्भा लगायतका गाउँपालिकाहरुले क्वारेन्टाइनमा रहेका हजार दिनका आमा र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको र आमा समुहहरुले पनि पोषणको कमी हुन नदिन अण्डा, दुध, सागपात जस्ता पोषणयुक्त खानेकुरा दिईरहेको समेत बेस नेपालका सम्बन्धित पालिकाका फिल्डसुपरभाइजरहरुले जानकारी गराएका छन् ।

यु.एस्.ए.आईं.डि.को आर्थिक सहयोग तथा हेलेनकेलर इन्टरनेशनलको प्रमुख व्यवस्थापनमा पाल्पा सहित मुलुकका ४२ वटा जिल्लाहरुमा संचालनमा रहेको सुआहारा(दोश्रो) कार्यक्रमले खासगरी हजार दिनका आमाहरुको पोषण तथा स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारको एकीकृत पोषण तथा खाद्य सुरक्षा रणनीति (२०१८–२०२२) अनुसार संघ, प्रदेश तथा स्थानीय तहहरुसंग मिलेर काम गरिहेको बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update