Shittalpati
तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी गर्दै महिला

तानसेन (पाल्पा)हिन्दुहरुको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजाहरुमा झिनियाँ विक्री बढ्दो छ । तिहारमा दिदीबहीनीहरुले दाजुभाइलाई उपहारस्वरुप झिनियाँ दिने गर्दछन् ।जसका कारण यसको माग बढ्दो छ ।यतिबेला यहाँका महिला उद्यमीहरुलाई झिनियाँ बनाएर बेच्न भ्याइनभभ्याइ छ । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनिसहितका विभिन्न रोटीका परिकारहरु बनाएरै महिला उद्यमीहरुले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारहरु समेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमीहरु व्यस्त भएका छन् । जिल्लाका तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायतका पालिकाका महिलाहरु यति बेला झिनियाँ बनाउन र विक्री गर्नमै व्यस्त छन् । 

उनीहरुले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घर खर्च चलाउने गर्दै आएका छन् । तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांस घरहरुमा यति बेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली गल्ली, पसल पसलमा रङ्गी विरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलहरूमा झिनियाँ रोटीको व्यापार सुरु भएको छ ।तानसेन टक्सार टोलकी झिनिया व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ। उनले एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्दै आएकी छन् । उनले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउने गर्छिन् । दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख आम्दानी भइरहेको उनको भनाई छ । सोही ठाउँकी नारायणीदेवी बज्राचार्यले पनि तीन दशकदेखि झिनियाँ बिक्री–वितरण गर्दैै आएकी छन् । 

दसैँ–तिहारमा मात्रै साढे तीनदेखि ६ लाखको झिनियाँ बिक्री हुने उनको भनाई छ । ब्रजाचार्यले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने बताइन् । उनी जस्तै टक्सार टोलका अन्य महिलाहरुले पनि झिनियाँ बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । अधिकाश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने स–साना घरेलु उद्योगहरू नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रुपमा झिनियाँ तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाँको व्यापार फस्टाउँदो छ । दसैं अघिदेखि नै झिनियाँ रोटी बनाउने र बिक्री गर्दै आएको रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठले बताइन् । उनले रोटीको माग अत्याधिक रहेकाले बजारको कुनै समस्या नरहेको बताइन् । “हामीले बनाउने रोटी पु¥याउनै नसक्ने अवस्था छ,” श्रेष्ठले भनिन् “धेरै स्थानबाट माग आउने गर्छ । तर पठाउन सबैलाई सक्दैनौँ ।” आफैंले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेर समेत पठाउने गरेको उनले सुनाइन् । पाल्पाबाट उत्पादित झिनियाँ गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायतका जिल्लामा ठूलो मात्रमा आयात हुँदै आएको झिनियाँ व्यवसायी बताउँछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update