Shittalpati
पन्ध्र शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास, देशभरमा नै १५ शैयाका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् ।

तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३ सय ९६ पालिकामा पाँच, १० र १५ शैयाका अस्पताल शिलान्यास गरेको थियो । जसमा जिल्लाको चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । पछिल्लो पटक चन्द्रकोट गाउँपालिका–६ मा बिहीबारदेखि आधारभूत अस्पताल सञ्चालनमा आएको हो । पालिका अध्यक्ष युवराज केसीका अनुसार गाउँपालिकाको विज्ञापनमार्फत एक र लुम्बिनी प्रदेशको छात्रवृत्ति करार एक गरी दुइजना एमबिबिएस् डाक्टरको व्यवस्था गरिएको छ । तुल्सीभक्त अर्जुन व्युल्डर्स जेभीले १३ करोड ६६ लाखमा भवन निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको थियो । अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरेलगायत ओपिडी सेवाहरू सञ्चालन हुनेछन् ।

गुल्मीदरबार गाउँपालिका–३ मा गत वैशाख २४ गतेबाट आधारभूत अस्पताल सञ्चालनमा आएको थियो । बिकोई अर्जुन न्यू लिजा गुल्मीले दुई वर्षअघि १२ करोड ९४ लाखमा भवन निर्माणको काम सकेको थियो । दुईजना एमबिबिएस डाक्टर लुम्बिनी प्रदेशको छात्रवृत्ति करारबाट आएको र अन्य जनशक्ति पालिकाले व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको छ । अहिले अस्पतालमा १२ जना जनशक्ति रहेको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । गुल्मी दरबारको आधारभूत अस्पतालमा प्रसूति गराउने दुईजना जनशक्ति काजमा ल्याइएको छ । दुवै अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, ल्याब, अक्सिजन, निःशुल्क प्रसूति सेवा, गर्भपतनलगायतका सेवा सञ्चालनमा छन् । गुल्मी दरबारका स्वास्थ्य संयोजक अर्यालका अनुसार अहिले आधारभूत अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सेवा लिइरहेका छन् । चन्द्रकोटमा बाग्लुङको बरेङसम्म र गुल्मी दरबारमा रेसुङ्गा नगरपालिकाको दुविचौरसम्मका नागरिकले सेवा लिएका छन् । “आधारभूत अस्पतालमा स्वास्थ्य बिमा लागू गर्न सकियो भने राम्रोसँग सञ्चालन गर्न सकिन्छ ।” गुल्मीदरबारका स्वास्थ्य संयोजक अर्यालले भने । 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update