
काठमाडौँ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
एघारौँ संविधान दिवसका उपलक्ष्यमा आज समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले तोकिएको समयमा निर्वाचन सम्पन्न भई अत्यधिक नयाँ पुस्ता र नयाँ वातावरणले ओतप्रोत भएको संसद् निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारमुक्त सुशासन र नागरिकमा नयाँ आशा जागेको उनको भनाइ छ । आज संविधान जारी भएको १० वर्ष अर्थात् एक दशक पूरा भएको छ । तर संविधानले परिकल्पना गरेको र नेपाली समाजले अपेक्षा गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिका कुरा गौण हुन पुग्दा र अन्य अनपेक्षित कुरा र घटनाले बढावा पाउँदा जनतामा निराशा र आक्रोश व्याप्त हुँदै गएको उनको भनाइ छ । “जेनजी अर्थात् नयाँपुस्ता बढी नै निराश र आक्रोशित बन्यो, गत भदौ २३ र २४ को घटना नेपालको इतिहासमा नयाँ प्रकृतिको जेनजी आन्दोलनको नयाँ रूप थियो, यो एउटा विशिष्ट प्रकृतिको ‘टर्निङ प्वाइन्ट’ रह्यो”, उनले भनेका छन् ।
इतिहासदेखि नै नेपाल र नेपालीको पहिचानका रूपमा रहेका महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति, सम्पदा र धरोहरहरूमा नोक्सानी पुग्नु निकै दुःखद् विषय भएको उनले बताएका छन् । अध्यक्ष रेग्मीले सरकारले घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनेछ भन्ने सबैको अपेक्षा र विश्वास पनि व्यक्त गरेका छन् ।