Shittalpati
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य

लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन । 

संविधान दिवस–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले  संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन। मुख्यमन्त्री आचार्यले संविधानले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई अङ्गीकार गर्दै नागरिकका मौलिक हक–अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानुनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको उद्देश्यलाई अघि सारेको स्मरण गराएका छन । प्रदेश सरकारले संविधान, दिगो विकास लक्ष्य, अन्तरराष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधारमानी नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्य अघि बढाइरहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका छन ।

सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासाहरूको समयमै सम्बोधनलाई प्राथमिकता दिइएको उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइसकेको बताउँदै उहाँले युवा पुस्ताको चाहनाअनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढ्नेमा प्रतिबद्ध रहेको उल्लेख गरे । संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिन प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताको समेत अनुरोध गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update