
पाल्पा, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको एकवर्षे कार्यकालमा केही सुधारका आशा देखिएका छन् । १८ साउन २०८१ मा मन्त्री नियुक्ति भएका सारुले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरे ।
उनले एक वर्षमा स्वास्थ्यमा सामान्यदेखि नीतिगत सुधारका काम गरी केही आशा जगाएका छन् । अस्पतालको सेवा सुधार विस्तारदेखि क्यान्सर, मुटु र मृगौला प्रत्यारोपण उपचारका लागि व्यवस्थित बनाउने प्रशस्त प्रयासको नतिजास्वरुप परिवर्तन देखिन थालेका छन् । यसबीचमा स्वास्थ्य क्षेत्रमा सुधारका लागि केही नीतिगत निर्णय गरेका छन् भने केही ऐन तथा कानुन आउने प्रक्रियामा छन् । मन्त्री सारुले एक वर्षको कार्यकालमा प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता र नागरिकलाई स्थानीय तहमै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्य प्रमुख प्राथमिकता रहेको बताए । उनले यो लक्ष्य प्राप्तिका लागि विभिन्न नीतिगत र कार्यान्वयनगत पहलहरू गरिएको उल्लेख गरे । मन्त्रीले सारुले प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका संशोधन गरी क्यान्सर, मुटुको भल्व फेर्ने र मृगौला प्रत्यारोपण उपचारको सिफारिस लिन स्वास्थ्य निर्देशनालय भालुवाङ आउने बाध्यताको अन्त्य गरी जिल्लास्थित स्वास्थ्य कार्यालयमार्फत प्राप्त हुने व्यवस्था मिलाएका छन् । पाँच वर्षे लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८१–२०८६) मन्त्रिपरिषदबाट पारित गरि कार्यान्वयनमा ल्याइएको छ । मन्त्रीले सारुले एक वर्षको अवधिमा अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८०–२०८१ संशोधन), प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका, २०७८ पहिलो संशोधन २०८१, सरकारी अस्पताल आवासगृह सञ्चालन निर्देशिका, २०८१, महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधी, २०८१, संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधी, २०८१, प्रादेशिक बायोमेडिकल कार्यशाला सञ्चालन कार्यविधि, २०८१ लगायतका केही नियमावली र निर्देशिका संशोधन गरेका छन् ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा १० वटा काउण्टरबाट अनलाईन टिकेटि·, डिजिटल भूक्तानी, अटोमेटिक रिपोर्ट डिस्प्याच सेवा, ९० शैयाको मेडिकल वार्ड विस्तार, रक्तसञ्चार बैंक, प्रसूति सेवाको क्षमता ३३ प्रतिशत थप विस्तार, एमआरआइ खरीद लगायतका सेवा विस्तार गरिएको छ । यसैगरी स्वास्थ्य बीमा तथा जनस्वास्थ्य सेवा विस्तार अन्तर्गत ३ हजार ८ सय ५१ जना बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान, १ लाख ४ हजारभन्दा बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ गरिएको छ । ३९ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्नुको साथै ६९ हजारभन्दा बढी गर्भवती महिलाले संस्थागत प्रसूति सेवा लिएका छन् । मन्त्रालय मातहतका २ हजार ६४ कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराइएको छ र ९ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार गरिएको छ ।
रिक्त प्राविधिक दरबन्दीमा करार सेवामार्फत जनशक्ति भर्ना गरी सेवा विस्तार, प्रदेशका १२ वटै जिल्लामा पूर्ण खोप सुनिश्चितता कायम, ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा, महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन, बिजौरी आयुर्वेद चिकित्सालयबाट सुरु गरिएको स्वर्ण बिन्दु प्रसाशन सेवा विस्तारका लागि मानव कार्यविधि बनाई सबै जिल्लामा विस्तारको तयारी भइरहेको समेत मन्त्री सारुले जानकारी दिए । अर्घाखाँची, पाल्पा र बाँके जिल्लामा फेमिली हेल्थ प्रोफाईल तयार गरि २ लाख २४ हजार ४ सय ४१ परिवारका ९ लाख १३ हजार ७० जनाको विवरण अपडेट गरी फेमिली हेल्थ प्रोफाइल तयार पारिएको छ भने आगामी आर्थिक वर्षमा नवलपरासी, रूपन्देही, कपिलवस्तु र दाङ जिल्लामा विस्तार गर्ने गरी तयारी गरिएको मन्त्री सारुले बताए । मन्त्री सारुले आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य मन्त्रालयको वित्तिय प्रगति ८६ दशमलव ५१ प्रतिशत पुर्याएका छन् । जुन प्रदेश मन्त्रालयहरू मध्ये सबै भन्दा बढी हो ।