
पाल्पा, पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग गरेका छन् । बुधबार तानसेनको शितलपाटीमा भेला भइ सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्री पौडेलको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।
उनीहरुले अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुनचाँदी गहनामा लगाएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा पर्ने अवस्था सिर्जना भएको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विनियोजन विधेयक पास हुँदा समेत आफूहरुको माग सम्बोधन नभएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको पाल्पा सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेमलाल पौडेलले बताए । उनले भने “देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित हुँदा समेत सरकारले हामीहरुको मागलाई बेवास्ता गर्दै आएको छ । सरकारका विरुद्ध हामी पसल नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको छ । माग सम्बोधन हुँदैन भने अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । हैन भने हामी थप सशक्त भएर सडक आन्दोलनमा जान्छौं ।”
व्यवसायीहरुले बुधबार नारा लगाउँदै सडकमा आन्दोलन गरेका थिए । उनीहरुले ‘अर्थमन्त्री राजीनामा दे’, ‘सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेज गर’, ‘सुनचाँदी हिरा, जवाहारातमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर’, ‘६ प्रतिशत भन्सार दर कायम गर’, ‘नीति निर्देशीका लागु गर’, ‘उपभोक्ता मारा कर नीति खारेज गर’, ‘हाम्रो आन्दोलन जारी छ’ लगायतका नारा लगाउँदै नगर परिक्रम गरेका थिए । सरकारले आफुहरुको माग नसुनेकाले ६ दिनदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएको संघका महासचिव प्रविणराज शाक्यले बताए । उनले भने “नयाँ बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हीरा पत्थरमा १३ प्रतिशत कर लगाएकाले तत्काल खारेज हुनुपर्ने माग गर्दै पसल बन्द गरेको आज ६ दिन भयो । तर पनि सरकारले हाम्रो माग सुनेको छैन् । सरकारले तत्काल माग सम्बोधन नगरे हामी कडा रुपमा अन्दोलनमा जाने छौं ।”
अहिलेको अवस्थामा सरकारले गहनामा कर लगाएर स्वदेशी व्यवसायीहरुलाई पलायन गराई सिमापारका व्यवसायीहरुलाई प्रोत्साहन गर्न खोजेको महासचिव शाक्यको आरोप छ । उनले भने “केही समय यता सुन महँगीएर पसलहरु बन्द गर्नुपर्ने र दक्ष कालीगढहरु विदेश पलायन हुने अवस्था सिर्जना भएको बेला सरकारले थप विलासिताको कर लगाएर समस्यामा पारेको छ ।” टुँडिखेलको विरेन्द्र फुलबारीबाट निस्किएको विरोध ¥याली शितलपाटी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा संघका जिल्ला सदस्य महेश बराल, रामपुर सुनचाँदी व्यवसायी संघका सदस्य सनु रिजाल, अनुगमन समितिका संयोजक दिलिप कुमार समरघाती, आन्दोलन परिचालन समितिका संयोजक अशोक विश्वकर्मा लगायतले तत्काल व्यवसायीहरुका जायज मागहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।