Shittalpati
योगमा आकर्षण

पाल्पा,पछिल्लो समय जिल्लामा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ ।  नियमित योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्धवृद्धासम्म योगतर्फ आकर्षित हुने गरेका हुन्  ।

मानिसको व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई शारीरिक रुपमा स्वस्थ राख्नसँगै तनाव व्यवस्थान गर्न सहयोग गर्ने भएपछि विगत दुई वर्षदेखि नियमित योग गर्न थालेको तानसेन नगरपालिका –५ कैलाशनगरकी ४१ वर्षीया मीना खत्री बताउन्छिन् । कामको व्यवस्ता भए पनि हरेक दिन बिहान समय निकालेर योग गर्ने गरेको उनको भनाई छ । बिहानको समयलाई योग र साधनामा लगाउँदा शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने गरेको खत्रीले बताइन् । साधनामा लागेको छोटो समयमै धेरै लाभ लिएको उनको अनुभूति छ । “पहिले महिनाबारी नियमित थिएन, रुघा लागिरहन्थ्यो, घाँटीमा धेरै खालका समस्या थिए, योग साधना गर्न थालेपछि बिस्तारै महिनाबारी नियमित हुनुका साथै अन्य समस्या पनि समाधान भएका छन्,”खत्रीले भनिन् । तानसेन भगवतीटोलका ३८ वर्षीय राजेश थापा एक वर्षदेखि बिहान ५ देखि ६ बजेसम्म नियमित योग साधना गर्छन् । नियमित योग गर्दै आएका उनले त्यसअघि देखिएको ढाड, कम्मर दुख्ने समस्या निको भएको बताए । “प्रायः बिहान ६–७ बजेसम्म सुत्छौं, यो राम्रो होइन रहेछ, विहानै उठेर कम्तीमा एक/दुई घण्टा व्यायाम गर्दा धेरै लाभ लिन सकिने अनुभव गरेको छु,” थापाले भने । यहाँ सञ्चालन भइरहेका साधना केन्द्रहरूमा पछिल्लो समय युवा पुस्ताको आकर्षण बढेको छ । युवासँगै प्रौढ र ज्येष्ठ नागरिक पनि नियमित योग अभ्यास गर्छन् । उनीहरू बिहान ४ नबज्दै साधना केन्द्रहरूमा भेला हुन्छन् । 

कम्तीमा २ घण्टा सामूहिक अभ्यास गरेर दैनिकीमा फर्किन्छन् । कुनै किसिमको स्वास्थ्य समस्या आउन नदिन योग साधनालाई निरन्तरता दिएको उनीहरुको भनाई छ । किशोरावस्थादेखि योग साधनामा जुटेका तानसेनका सुरेश श्रेष्ठ योग प्रशिक्षक तथा पतञ्जली योग समिति पाल्पाका  अध्यक्ष हुन् । उनले योग साधना सुरु गरेको  डेढ दशक नाघिसक्यो । प्राणायाम र ध्यानको सन्तुलन मिलाएर नियमित योग गर्न सके शारीरिक, मानसिक, वैचारिक र बौद्धिक रूपमा स्फूर्त रहने उनको अनुभव छ । “रोग लागेपछि निको हुन योग गर्नुपर्छ भन्ने भ्रम छ, कतिपयले त योग रोगीहरूले गर्छन् भन्छन् । तर रोग निको पार्नुभन्दा पनि लाग्नै नदिने छेकबारको काम योगले गर्छ,’ श्रेष्ठ भन्छन् । नैतिकवान्, इमान्दार र आत्मानुशासन कायम गर्नका लागि सबैले योग गर्नुपर्छ भन्ने उनको सुझाव छ । नियमित योग अभ्यासले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्नसँगै सकारात्मक सोचको विकासका लागि सहयोग गर्ने भएकाले योग सर्वश्रेष्ठ मानिने प्रशिक्षक श्रेष्ठ  बताउन्छन् । उनका अनुसार पछिल्लो समय मानिसहरुले खानपिन र जीवनशैलीमा ध्यान नदिँदा अस्वस्थ हुने र खर्च बढने गरेको भन्दै यसलाई हटाउन योगले सहयोग गर्ने बताए । श्रेष्ठले भने ‘खानपान र जीवनशैलीका कारण प्राय : मानिसहरुको शरीर भद्दा हुने, अस्तव्यस्त र अस्वस्थ रहने भएकाले आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।’ पछिल्लो समय बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि पनि धेरै मानिसहरु योगमा लागेको उनी बताउन्छन् । जिल्लामा १७ वटा साधना केन्द्रहरू रहेका छन् । तानसेनमा मात्र ७ वटा केन्द्रहरु सक्रिय रुपमा रहेको पाइन्छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update