Shittalpati
सेवा प्रवाहमार्फत जनतामा भरोसा र विश्वास जगाऔं : सांसद राना

पाल्पा, लुम्बिनी प्रदेशका सांसद् तथा पूर्वमन्त्री विरबहादुर रानाले प्रभावकारी सेवा प्रवाहमार्फत जनतामा भरोसा र विश्वास जगाउन निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी युनियन पाल्पाको ९ औं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् रानाले सेवा प्रवाहमार्फत जनतामा विश्वास जगाउन आग्रह गरेका हुन् ।

प्रमुख अतिथि रानाले भने “पछिल्लो समय आमनागरिकमा निराशा छाएको छ, त्यो निराशा राजनीतिक दल र कर्मचारीहरुबाट नै भएको हो । त्यसमा हामी राजनीतिक दल र कर्मचारी वर्गहरु इमान्दारी भएर सेवा प्रवाहमा लाग्न आवश्यक छ ।” दल र कर्मचारी राज्यलाई नभई नहुने वर्ग भएको उनको भनाई छ । सांसद रानाले भने “यी दुई राज्यका लागि आवश्यक छन् । तर ति वर्गप्रति अहिले जनताको विश्वास टुटेको छ , अब हामीले जनतालाई विश्वास दिलाउन एक पटक प्रण गर्नैपर्छ ।”जनतामा देखिएको निराशा चिर्न कर्मचारी साथीहरु शसक्त भएर लाग्नुपर्ने बेला आएको उनले बताए । नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका रानाले आफ्नो कार्य क्षेत्रमा देखिएका फोहोरलाई सफा गरेर जनताको मन जित्ने गरी उच्च मनोवलका साथ काम गर्नुपर्नेमा जोड दिए । नेता रानाले वर्तमान व्यवस्थाप्रति टिकाटिप्पणीहरु भएको प्रति लक्षित गर्दै भने “अहिलेको व्यवस्था खराब हैन, प्रवृति खराब हो । त्यसलाई चिर्न निजामती कर्मचारी युनियनले तोड्न जरुरी छ ।” मुलुकमा लोकतन्त्र र गणतन्त्र ल्याउन कर्मचारीको पनि महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष उत्तम कुमार कटुवालले आफ्नो पेशागत हक हित र अधिकारप्रति सजग हुन युनियनमा आवद्ध कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा युनियनका केन्द्रीय उपमहासचिव इन्दु शर्मा, नेपाली काँग्रेसका जिल्ला सदस्य पुरुषोत्तम अर्याल, नेपाली काँग्रेस विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, युनियन लुम्बिनी प्रदेश अध्यक्ष वामदेव शर्मा, युनियनका केन्द्रीय सदस्यहरु हरि ज्ञवाली, सुनिल लामिछाने, युनियन रुपन्देहीका चक्रपाणी पाण्डे, युनियन पाल्पाका निवर्तमान अध्यक्ष रवि अर्याल, नेपाल निजामति कर्मचारी संगठन पाल्पाका प्रतिनिधि भोजबहादुर राना लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे । सोही अवसरमा युनियनले सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । युनियनका सचिव ओमप्रकाश न्यौपानेका अनुसार भक्तिश्वरा राना, महेश पाण्डे, इन्दिरा भट्टराई, चुराबहादुर गोदारलाई सम्मान गरिएको हो । यस्तै युनियनका निवर्तमान अध्यक्ष रवि अर्याललाई पाल्पाबाट सरुवा भइसकेकाले विदाइ समेत गरिएको थियो । युनियनका अध्यक्ष लिलामणी बस्यालको अध्यक्षता, उपाध्यक्ष भगवती केसीको स्वागत, सचिव ओमप्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update