
पाल्पा, गोरखा नगरपालिका, नेपाल पत्रकार महासंघ गोरखा र तानसेन नगरपालिका, नेपाल पत्रकार महासंघ पाल्पाबिच असल अभ्यास आदान– प्रदान गरिएको छ । गोरखाबाट आएको जनप्रतिनिधि र पत्रकारहरुको टोलीसँग विहीबार तानसेनमा असल अभ्यास आदान–प्रदान गरिएको हो ।
कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले गोरखा भ्रमण वर्ष २०२५ लाई सफल पार्न आफुहरु विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्दै सम्बन्धित स्थानीय तहसँग असल अभ्यास आदान –प्रदान गर्दै हिडेको बताए । उनले गोरखाबाट पाल्पा हुँदै डढेलधुरासम्मको यात्रा तय गरिएको बताउँदै पाल्पामा तानसेन नगरपालिका र यहाँका पत्रकारहरुसँग असल अभ्यासका बारेमा जानकारी लिने दिने गरिएको उल्लेख गरे । नगर प्रमुख रानाले भने“ गोरखा आफैमा ऐतिहासिक जिल्ला हो, हामीले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजी रहेका छौंं, त्यसका लागि पनि पर्यटकीय नगर तानसेनले पर्यटनका क्षेत्रमा गरेका असल अभ्यास जान्न चहान्छौं, यहाँ भएका असल कुराहरुलाई हामीले हाम्रो नगरपालिकामा प्रयोग गर्न खोजेका हौं ।” उनले ‘गोरखा जाने इतिहास जिवित छ’ भन्ने नारा तय गरी विभिन्न पर्यटकीय स्थलहरु छनोट गरी कार्यक्रम गर्दै आएको बताए । नगर प्रमुख रानाले अहिलेसम्म ३१ वटा पर्यटनका कार्यक्रमहरु गरिसकेको भन्दै विभिन्न स्थानीय तहहसँग समन्वय गरी पर्यटन सञ्जाल समेत गठन गरि काम गरिदै आएको जानकारी गराए । गोरखाबाट भ्रमणमा निस्किनेहरुको पहिलो रोजाई जहिल्यै पाल्पा पर्ने गरेको तर पाल्पाबाट आउनेहरुको रोजाई गोरखा पर्न नसकेको गुनासो गर्दै उनले एक पटक गोरखा भ्रमणमा आउन यहाँका जनप्रतिनिधि र पत्रकारहरुलाई आग्रह गरे । नगर प्रमुख रानाले पर्यटनको माध्यमबाट गोरखाको समृद्धि हासिल गर्न सकिने भएकाले आफुहरु सोही अनुसार आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेको बताए ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुहरुले नगरमा गरेका केही असल अभ्यासका बारेमा जानकारी गराएका थिए । उनले नगरको पर्यटन विकासमा यहाँका राजनीतिक दल र पत्रकारहरुसँग मित्रवत सम्बन्ध रहेको बताए । गोरखाका जनप्रतिनिधि र पत्रकार तानसेनमा नगर प्रमुख श्रेष्ठले तानसेनलाई पर्यटन र कृषि क्षेत्रको माध्यमबाट समृद्धि ल्याउने गरी नगरपालिकाले योजना तथा कार्यक्रम अगाडि बढाएको बताए । उनले भने “गोरखा र पाल्पाबिच वर्षौैदेखिको सम्बन्ध छ । हामीले गोरखाले पर्यटनका क्षेत्रमा गरेका कामहरु अनुसरण गर्न चाहन्छौं ।” सोही अवसरमा दुई जिल्लाका पत्रकारहरुले समेत असल अभ्यास आदान–प्रदान गरे । उनीहरुले आ–आफ्ना जिल्लामा महासंघले गरेका राम्रा काम र स्थानीय सरकारले मिडियाहरुको क्षेत्रमा गरेका असल कामहरु एक आपसमा आदान–प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले पछिल्लो समय खस्कदो विज्ञापन बजारका कारण गोरखाका मिडियाहरु संकटमा रहेको बताए । उनले गोरखा नगरपालिकाले मिडियाहरुको संस्थागत विकासका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएकाले अन्य पालिकाले पनि यस्तै गर्नुपर्नेमा जोड दिए । स्वतन्त्र पत्रकारिताको विकासले मात्र समाज र राष्ट्रको विकास हुने भएकाले आर्थिक संकटमा परेका सञ्चारमाध्यमहरुलाई स्थानीय सरकारले सहयोग गर्न जरुरी रहेको उनको भनाई छ ।
पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लाको पत्रकारिता, सञ्चारगृह र स्थानीय सरकारको सञ्चारमाध्यमप्रतिको सहयोगका विषयमा जानकारी गराएका थिए । उनले तानसेन नगरपालिकाले स्थानीय मिडिया सवलिकरण कार्यक्रममार्फत थोरै भए पनि यहाँका मिडियाहरुलाई सहयोग गर्दै आएको बताए । उनले पनि मिडियाहरु बन्द हुने अवस्थामा पुगेकाले तिनीहरुको संस्थागत विकासमा ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरे । कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय उपाध्याय, तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे लगायत जनप्रतिनिधि, कर्मचारी, पत्रकारहरुको सहभागिता रहेको थियो । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, सामाजिक विकास शाखाका प्रमुख भरत आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।