
तुलसीपुर, दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो ।
तत्कालीन अवस्थामा बिरामीको चाप पनि न्यून हुने, सेवा पनि सीमित हुँदा त्यसले सेवा प्रवाहमा सहजता नै थियो । तर, बिरामीको चाप पनि बढेको र सेवा पनि थपिँदै जाँदा शय्या थप्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए । “हाम्रो दरबन्दी ५० शय्याकै छ”, उनले भने, “तर, हामीले १४४ शय्याको सञ्चालन गरेका छौँ, यसले हामीलाई निकै भार थपेको छ ।” अहिले अस्पतालमा कन्सलटेन्ट डाक्टरको दरबन्दी १४ जनाको हो तर, शय्या थपसँगै १८ जना चिकित्सकले काम गरिरहेको उनले बताए । स्थायी कन्सल्टेन्ट चिकित्सक ११ जना रहेको र बाँकी सातजना करारमा नियुक्त गरिएको डा अधिकारीले बताए । त्यस्तै मेडिकल अफिसर सात जनाको दरबन्दी हो । तर, अहिले स्थायी छ र १८ जना करारमा नियुक्त गरी २४ जना बनाइएको छ । जम्मा ७२ जना चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीको दरबन्दी रहेकामा हाल अस्पताल विकास समितिको निर्णयअनुसार २३५ जना राखिएको उनले बर्ताए । यसरी अस्पताल विकास समितिलाई पनि भार पर्ने अवस्थासमेत आएको र ५० शय्याको मात्रै संरचना तथा दरबन्दी हुँदा निकै आलोचना खेप्नु परेको डा अधिकारीको भनाइ छ । दुई सय शय्या बनाउनका लागि धेरै पहल भए पनि त्यसको काम अघि बढ्न नसकेको भन्दै यसलाई पूर्णता दिनतर्फ लाग्ने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रराज लामिछानेले बताए । “अस्पतालमा बिरामीको चाप बढिरहेको छ, धेरैले रेफर अस्पताल भनेर गुनासो पनि गर्छन्”, उनले भने, “यसलाई सुधार गर्न तर्फ म लागिरहेको छु ।” आगामी आर्थिक वर्षमा २०० शय्याको स्वीकृति हुने गरि बजेट पनि आउने कुरामा आफू ढुक्क रहेको अध्यक्ष लामिछानेले बताए । अस्पताललाई २०० शय्या बनाउनुपर्ने आवाज चौतर्फी उठिरहेको छ ।