Shittalpati
रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी, रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । भैरहवाका उद्योगी दम्पत्ती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोडको लगानीमा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालि’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।

उद्योगले प्रतिदिन दुई सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको र हाल ‘रत्नम्’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको उद्योग सञ्चालक अग्रवालले जानकारी दिए । उद्योगको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक उद्घाटन गरे । कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य रहेको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्नेमा जोड दिँदै स्वदेशी प्राङ्गारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरे । उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना सङ्क्रमणका कारण आफ्नै बुबालाई गुमाउनुपरेको स्मरण गर्दै श्रीमान् पनि सङ्क्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मल उद्योग सञ्चालन गर्ने निर्णय लिइएको उल्लेख गरिन् ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update