Shittalpati
गणतन्त्रका १७ वर्ष

पाल्पा, मुलुकमा गणतन्त्र स्थापनाको १७ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र घोषणा गरेको थियो । झण्डै साढे दुई शताब्दी पुरानो शाहवंशीय राजतन्त्रको अन्त्यसँगै घोषणा गरिएको गणतन्त्र उमेरले वयस्क भए पनि अझै संस्थागत हुने क्रममै छ । प्रथम संविधान सभाबाट घोषणा भएको गणतन्त्रलाई दोस्रो संविधान सभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्‍यो । संवैधानिक दृष्टिले गणतन्त्रको अभ्यासले ‘१७ वर्ष उमेर’ पार गरे पनि व्यवस्था माथिका प्रश्न र चुनौती भने अझ धारिला हुँदै गएका छन् । बितेका डेढ दशकमा भएका अभ्यासले गणतन्त्रप्रति गुनासो पनि उत्तिकै भइरहेको छ । यही मौकामा इतिहासको पानामा सीमित भइसकेको राजतन्त्र ब्युँताउने प्रयास चलिरहेका छन् । जनअसन्तुष्टिलाई उपयोग गर्दै लोकतान्त्रिक गणतन्त्रको ठाउँमा राजतन्त्र स्थापना गर्ने कुनै शक्तिशाली आन्दोलन गराउन खोजिएको छ । पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर विभिन्न कोणबाट अहिले भइरहेका प्रयासको उद्देश्य त्यही हो । गणतन्त्र विरुद्ध जानसक्ने शक्ति तत्काल तयार नभए पनि गणतान्त्रिक शक्तिको व्यवहारले व्यवस्थालाई कमजोर बनाइरहेको मान्न सकिन्छ । 

लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र घोषणा हुँदा जुन खालको उत्साह थियो, त्यसपछिको राजनीतिक खिचातानीले जनतालाई निरुत्साहित बनाएको छ । गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो पक्रन सकेको छैन, जसले गर्दा आम जनताको जीवनशैली बदलिएन । त्यसैकारण पनि जनतामा उतिबेला देखिएको आशा र उत्साह निराशामा बदलिएको हो । मुलकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था भने उस्तै छ । 

गणतन्त्र आएपछि जीवन बदलिने सोचेका बगनासकाली घोरबन्दाका ५८ वर्षीय माने कुमालले अहिले पनि पूर्खाले नै गरेको काम गर्नु परेको गुनासो गर्छन् । गणतन्त्र घोषणा हुँदा उनी बारी जोत्दै थिए । अहिलेसम्म पनि त्यही हलो जोतेरै जीवन चलाउदै आएक गुनासो छ । उनले भने “न हाम्रो काम फेरियो, न त हाम्रो स्थिति फेरियो,”उनले भने, “जस्तो हाम्रो पुर्खाको अवस्था थियो, हाम्रो पनि त्यस्तै रह्यो ।” २०६५ जेठ १५ गते देशमा गणतन्त्र आउँदा तानसेन जैसिचौपारीका बाले विक आरानमा फलाम थिच्दै थिए । फलामका औजार बनाउने पुर्खयौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवानमा उनी पनि गणतन्त्र ल्याउन भन्दै गाउँलेहरुसँगै आन्दोलनमा होमिएका थिए । पछि देशमा गणतन्त्र आएको सुने । गणतन्त्र आएपछि देश र जनताको अवस्था फेरिने उनले सुनेका थिए । 

तर विकले सुनेको कुरा कहिल्यै साँचो लागेन । अहिले पनि उनी त्यही पूर्खौली पेशा गर्दै आएका छन् । उनीहरुसँगै धेरैले व्यवस्था परिवर्तनले जीवनमा खासै प्रभाव नपारेको बताउँछन् । मुलुकमा गणतन्त्र आएको १७ वर्ष पूरा भएको छ । तर, जनताको लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र आए पनि अहिलेसम्म उनीहरुको जीवनमा परिवर्तन आउन सकेको छैन् । समग्र मुलुकको विकास र जनताको आर्थिकस्तर उकास्ने भन्दा नेताहरु आफ्नै स्वार्थमा केन्द्रीत भएको अनुभूत जनताले गरिरहेका छन् ।

आज १८ औँ गणतन्त्र दिवस मनाइँदै

अठारौँ गणतन्त्र दिवस आज पाल्पासहित देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी हर्षाेल्लास साथ मनाइँदैछ । राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले गणतन्त्र दिवसका अवसरमा यसको महत्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update