
पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले कानुनको परीधिभित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्ने बताएका छन् । भर्खरै काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट पाल्पा सरुवा भई आएका एसपी भट्टराईले कानुनसंगत कानुनको परीधिभित्र रहेर विद्यमान संविधान, प्रहरी ऐनले निर्दिष्ट गरेका कुराहरुमा कानुनसंगत ढंगले शान्ति सुरक्षा कायम गर्ने उनले बताएका हुन् ।
उपरीक्षक भट्टराईले भने “प्रहरी भनेको कानुन कार्यान्यवन गर्ने संस्था हो, कसैलाई अन्याय नहुने गरी कानुन कार्यान्वयन गर्छौं त्यसमा कुनै शंका मान्नु पर्दैन ।” उनले समाजलाई सकारात्मक दिशातर्फ लैजान पत्रकार र मिडियाहरुको भूमिका महत्वपूर्ण रहेकाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न पत्रकारहरुसँग सहकार्य गरी अगाडि बढ्ने उनले बताए । जिल्लाई कसरी सुरक्षित बनाउने ?, कसरी शान्त बनाउने भन्ने कुरालाई कानुनको परीधिमा रही लगनशीलता भएर काम गर्ने एसपी भट्टराईले प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने “ हाम्रो प्रयास जनता केन्द्रीत, अपराध न्यूनिकरण, सुशसानलाई प्रवद्र्धन र पादर्शीता केन्द्रीत हुने छ ।” उनले मुद्धामा आधारित रहेर रेस्पोन्स गर्ने समेत बताए । उपरीक्षक भट्टराईले भने “मुद्धाले के माग गर्दछ,त्यो मुद्धा के सँग सम्बन्धित छ, सबै भन्दा ठूलो कुरा मुद्धा हो, त्यसलाई रेस्पोन्स गर्ने विधि कानुनले बनाएको छ, समाजले बनाएको छ, त्यसै अनुरुप काम गर्ने र्छौं ।”
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउने दिशामा काम गर्न एसपीलाई आग्रह गरे । कार्यक्रममा उपस्थित पत्रकारहरुले प्रहरीले पैसा कमाउने भन्दा नागरिकहरुको सेवा गर्ने गरी काम गर्नुपर्ने, दुर्घटना न्युनिकरणका लागि विशेष अभियान चलाउनु पर्ने, राजमार्ग तथा भित्री सडकमा राखिएका निर्माण सामाग्रीहरु हटाउनु पर्ने, टिपरहरुलाई नियम अनुसार अन्य सवारी साधानले जस्तै बराबर लोड बोक्ने बनाउनु पर्ने, गाउँ–गाउँमा अन्धाधुन्द रुपमा खनिएका सडकहरु अनुगमन गरी सवारी साधन चलाउन मिल्ने वा निमल्ने छुट्टाउनु पर्ने, दिनहुँ बढ्दै गएका चोरीका घटनाहरु नियन्त्रण हुनुपर्ने, विना लाइसेन्स उमेर नपुगी चलाएका सवारी चालकहरुलाई नियन्त्रणमा लिई कारवाही गर्नुपर्ने, प्रहरीले लुकेर भन्दा सबैले देख्ने ठाउँबाट चेकजाँच गर्नुपर्ने, सिमा नाकाका चौकीहरुमा भईरहेका अनियमितताका घटनाहरु रोक्नु पर्ने, असुरक्षित रहेका प्रहरी चौकीहरुलाई व्यवस्थित बनाइनुपर्ने लगायतका सुझाव दिएका थिए ।