
दाङ, तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनका लागि आर्थिक सहयोग जुटाएर आवास बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।
२३ वर्षीय गणेश गन्धर्व, बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन् । मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुन् । सोह्र वर्षीया उनी हिँडडुल गर्न पनि सक्दिनन् । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रूपा गन्धर्वसहित उनीहरू २०६८ सालमा दाङको तुलसीपुर झरिन् । रूपाले भनिन्, ‘सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमानले अर्को विवाह गर्नुभयो ।’ यसपछि रूपालाई श्रीमानले घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उनलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो ।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनीहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आएका थिए । ‘कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा’, गणेशले भने, ‘लामो समय कसैले पनि बस्न दिएनन्।’ यसरी भाडामा बस्दा पनि पीडा झेलेका उनीहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुशी छन् । सारङ्गी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्थे, त्यसैले घरखर्च चल्ने गरेको थियो । अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताए । “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो”, उनले भने । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताए । ‘सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ’, उनले भने । अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उनले बताए ।