
हुमाकान्त पोखरेल
तम्घास (गुल्मी), “पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, “करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ ।”
कालीगण्डकी करिडोर नबन्दै हर्मिचौरलगायतका भेगका नागरिक सदरमुकाम तम्घास जान पाल्पाको सडक प्रयोग गर्नुपर्नेमा अहिले भने सिधा रिडीको बाटो प्रयोग गर्न सकिने पाण्डेले बताए । हर्मिचौरमा सिलाइ–कटाइ पसल सञ्चालन गरिरहेका वीरबहादुर दर्जीलाई पनि सामान ल्याउन करिडोर निर्माणपछि सहज भएको छ । पहिले बागलुङबाट सामान ल्याउनुपर्दा समस्या रहेकामा अहिले करिडोर निर्माणपछि बुटवल आवतजावत गर्न सहज भएको उनले सुनाए । “सामान ल्याउन र बिक्री गर्न बाटोका कारण केही समस्या थियो, करिडोर निर्माण भएपछि सहज कम मूल्यमै सामान ल्याउन सकिएको छ”, उनले भने । उनले आफू र आफूजस्तै व्यवसायीलाई करिडोर निर्माणले सहज बनाएको बताए । कोरला नाका हुँदै चीनको मानसरोवर जोड्ने करिडोरको गुल्मीमा ३९ किलोमिटर भाग पर्दछ । गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिक करिडोरबाट लाभान्वित छन् । करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ । त्यसैगरी बुटवल, पोखरा र काठमाडौँसम्मको दूरी पनि छोट्टिएको छ ।
करिडोर नहुँदा यहाँबाट काठमाडौँ जान बागलुङ वा रिडी गएपछि मात्र बस चढ्नु पर्दथ्यो भने अहिले घरबाटै रात्रिकालीन सेवाको बस चढ्न पाइने भएको सत्यवतीकी मिना क्षेत्रीले बताइन् । रिडीबाट पूर्तिघाट सम्मको व्यापार गुल्मी सदरमुकामभन्दा बुटवल र बागलुङसँग बढी नजिक छ । त्यसमा सडकले थप सहजता मिलेको छ । करिडोर (गुल्मी खण्ड) निर्माण सम्पन्न भएपछि सडक क्षेत्रमा सयौँको संख्यामा व्यापारिक फार्म खुलेका छन् । होटल तथा रेस्टुराँ कृषि फार्म, कपडा पसल, गल्ला तथा किराना पसल, कस्मेटिकलगायत खुल्न थालेको कालीगण्डकी गाउँपालिका पूर्तिघाटका लीलबहादुर केसीले बताए । “करिडोर निर्माणले पर्यटक प्रवद्र्धनमा समेत सहयोग मिलेको छ”, उनले भने । व्यावसायिक फार्म स्थापना हुँदा एकातर्फ गाउँमै रोजगारी सिर्जना भएको छ भने अर्कातर्फ स्थानीय उत्पादनको बजारीकरण भएको छ ।
फार्म पालिकामा दर्ता हुँदा स्थानीय सरकारको राजस्वमा समेत वृद्धि भएको त्यस क्षेत्रका पूर्वसांसद एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले बताए । “करिडोरले यातायात मात्र होइन, यस क्षेत्रको भविष्य नै बलियो बनाएको छ, करिडोर निर्माण नभएको भए यो विकट रहन्थ्यो”, उनले भने । नवलपरासीको गैँडाकोटबाट चीनको उत्तरी भाग कोरलासम्म फैलिएको कालीगण्डकी करिडोर २५४ किलोमिटरको छ । जसमा नवलपुरमा ७८, पाल्पा र बागलुङमा ३६ किलोमिटर सडकखण्ड पर्छ । हालसम्म १९७.३ किलोमिटर सडक कालोपत्र भएको छ । करिडोरले नवलपुरका तीन, पाल्पाका पाँच, गुल्मीका तीन तथा बागलुङमा एक पालिका छोएको छ । करिडोरमा बनाउनुपर्ने ५९ पुलमध्ये ३५ वटा निर्माण सम्पन्न भएका छन् । सात वटा निर्माणाधीन छन् भने १७ पुलको ठेक्का हुन बाँकी रहेको कालीगण्डकी करिडोर कार्यालयका इन्जिनियर अरुण खत्रीले जानकारी दिए ।