पाल्पा, नेपाली काँग्रेस तानसेन नगर समितिले तानसेन खानेपानी उपभोक्ता समितिको ध्यानाकर्षण गराएको छ । समितिले तानसेनको खानेपानी व्यवस्थापनमा धेरै सुधार गरे पनि केही विषय सुधार गर्नुपर्ने भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको हो ।
नगर सभापति सुवर्णमुनि शाक्यको नेतृत्वमा गएको काँग्रेस नेताहरुको टोलीले हाल कायम रहेको खानेपानी महसुलमा लाग्दै आएको अवैज्ञानिक महसुल दर समय साक्षेप समायोजन गर्नुपर्ने, उपभोक्ताहरुलाई पानीको सदुपयोग सम्बन्धमा जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने, वडा समिति गठन गर्नुपर्ने,खानेपानीको प्रशासकिय भवन ब्यवस्थित हुनुपर्ने, खानेपानी वितरणको तालिका निर्धारण गर्नुपर्ने जस्ता विषयमा ध्यानाकर्षण गराएको छ । यस्तै उसले प्रताप शमशेर राणाको पालामा बनेका फलामे धाराहरुमा पुनः पानी आउने व्यवस्था मिलाउनुपर्ने, कर्मचारीहरुको तलब मानमा समयअनुल परिमार्जन गर्नुपर्ने, कर्मचारीहरुको दक्षता हेरी पुरस्कृत र दण्ड सजायको ब्यवस्था गर्नुपर्ने माग समेत राखेको छ । काँग्रेस नगर सभापति सुवर्णमुनि शाक्यले खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथाशिघ्र उक्त माग सम्बोधन गर्न आग्रह गरे । समितका अध्यक्ष श्रेष्ठले कांग्रेसले राखेका मागहरुलाई यथाशक्य सम्बोधन गर्ने बताए ।


