Shittalpati
हरित ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौँ, सराकारवालाहरुले जलवायु परिवर्तनको समस्या निराकरणका लागि हरित उर्जा प्रवद्र्धनमा जोड दिएको छ । यहाँ जारी ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिन आज ‘आर्थिक वृद्धिः स्वच्छ ऊर्जा र हरित अर्थव्यवस्था’ विषयक सत्रमा सहभागी उनिहरुले हरित उर्जा प्रवद्र्धनमा जोड दिएका हुन् ।

प्रतिनिधिसभा सदस्य डा स्वर्णीम वाग्लेले विश्वमा जलवायु परिवर्तनसम्बन्धी समस्या न्यूनीकरणका लागि विश्वव्यापी रुपमा नै पहल आवश्यक रहेको बताइन् । “जलवायु परिवर्तनको समस्या निराकरणका लागि हरित अर्थव्यवस्थामा गएमा वायुमण्डलमा बढिरहेको तापक्रम वृद्धिदर एक दशमल पाँच डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कायम राख्न सक्छौँ”, उनले भनिन्, “धनि मुलुकहरुका कारण विश्वमा कार्बन उत्सर्जन बढिरहेको छ । कार्बन उत्सर्जन कम गर्न हरित उर्जा प्रवद्र्धन जरुरी छ ।” उनले शून्य कार्बन रणनीतिक योजना कार्यान्वयनमा हुनुपर्नेमा पनि जोड दिइन । नवीकरणीय ऊर्जा बढाउन सरकारले अनुदान दिन जरुरी रहेको वाग्लेको भनाइ थियो । 

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्याण्डका प्राध्यापक डा शोभाकर ढकालले जलवायु परिवर्तनले ल्याएको समस्या निकारणको दिगो उपाय खोज्दै ऊर्जा क्षेत्रको सुरक्षा गर्न आवश्यक रहेको धारणा राख्नुभयो । “हरित ऊर्जाको विकासमा जोड दिन सकेमा जलवायुको असर न्यूनीकरणका नीति तथा कार्यक्रम कार्यान्वयनमा प्रभावकारी हुनेछ”, उनले भने, “जलविद्युत्सम्बन्धी अर्थव्यवस्था हिमाली क्षेत्रमा जरुरी छ, तसर्थ ऊर्जा क्षेत्रमा सन्तुलन आवश्यक छ ।”

जलवायुसम्बन्धी जोखिम सम्बोधनका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी रहेको उनको भनाइ छ । ढकालका अनुसार आर्थिक वृद्धिका लागि हरित अर्थतन्त्र, हिमाली स्थानीय स्रोत साधनको उपयोग जरुरी छ । संयुक्त राष्ट्रसङ्घ आवसीय कार्यक्रम म्यानमारका कार्यक्रम प्रबन्धक डा क्याटेरिना क्यामरिन्हासले हरित अर्थतन्त्र प्रवद्र्धन गर्न सकेमा जलवायुको जोखिम न्यूनीकरण गर्न सकिनेमा जोड दिइन । ऊर्जा खपत बढाउन सकेमा पनि कार्बन उत्सर्जन कटौतीमा सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार राम्रा योजना निर्माण गर्न सकेमा हरित उर्जाको प्रवद्र्धनमा सहयोग पुग्ने छ ।

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम दक्षिण अफ्रिका प्राविधिक सल्लाहकार डा मार्क ताडरोसले जलवायु परिवर्तका कारण निम्तिएको जोखिमको समाधानको खोजीमा जुट्न जरुरी रहेको बताउनुभयो । “जलवायुमा आएको परिवर्तनका कारण देखिएको जोखिम पत्ता लगाउन प्रविधिको व्यापक प्रयोग बढाउन जरुरी छ”, उनले भने, “खानेपानीको माग बढिरहेको छ, जलवायुले पानीको स्रोत सुकाउँदै गएमा पानीको हाहाकार मच्चिन सक्छ र जलविद्युत्मा पनि असर गर्छ ।”

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update