Shittalpati
लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी, तातो हावाको लहर अझै बढ्ने

पाल्पा, केही दिनयता मुलुकका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । लुम्बिनी प्रदेशमा तराई जिल्लाका केही स्थानमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा ४० डिग्री सेल्सियस तापक्रम नाघेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १६ गते (आइतबार) देखि क्रमशः तापक्रम बढ्दै गएको छ । यो क्रम ५ दिनसम्म रहने जनाइएको छ । वैशाख २० गतेसम्म तापक्रम वृद्धि हुँदै जाने भएकाले गर्मी अत्याधिक मात्रमा बढ्ने छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष बुलेटीन सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख गरेको छ ।

विशेषगरी लुम्बिनी प्रदेशका भैरहवा, तिलोत्तमा, लुम्बिनी, तौलिहवा, सिक्का, बैजापुर, नेपालगञ्ज लगायतका स्थानमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको मौसमविद् चिरञ्जीवी भेटवालले शित्तलपाटीलाई जानकारी दिए । उनका अनुसार मदेश प्रदेशमा पनि तापक्रम अधिकतम रहेको छ । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको मौसमविद् भेटवालको भनाई छ । उनले भने “तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन सबैमा अनुरोध गरिएको छ ।” तातो लहर “हिटवेभ” सम्बन्धी विशेष “बुलेटिन”मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन बुलेटीनमा भनिएको छ । तातो बढेसँगै आगलागी, हावाहुरी लगायतका समस्या झन् बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने मौसमविद् भेटवालको भनाई छ । उनले वर्षा गराउने प्रणाली कम हुँदा तापक्रम बढेको बताए । नेपालमा अझै केही दिनसम्म पानी नपर्ने भएकाले तापक्रम थप बढ्नसक्ने भेटवालको भनाई छ । विभागले तापक्रमलाई आधार मानेर तातो, धेरै तातो र अति तातो भनेर वर्गीकरण गरेको छ । कुनै स्थानमा तीन दिनसम्म तातो दिन भए ती स्थानमा तातो हावा (हिट वेभ)को लहर चल्ने उनले बताए । विभागले यसका लागि छुट्टाछुट्टै मापन केन्द्रहरुमा तापक्रमको आधारमा पर्सेन्टाइल भ्यालुहरु राखेको छ । त्यसैको आधारमा तातो हावाको बारेमा पूर्वानुमान गर्ने गर्छ । “कुनै एउटा मापन केन्द्रमा तीन दिनसम्म तातो दिनको थ्रेसहोल्ड काट्यो भने हामीले तातो हावा चल्यो भन्छौं,” भेटवालले शित्तलपाटीसित भने । पहाडी ठाउँमा ३० डिग्री नाघ्दा धेरैलाई गाह्रो हुन्छ भने मधेसमा सामान्य लिने गरिन्छ । मधेसमा तापक्रम ३५ नाघेपछि धेरै तातो मानिने गरिएको छ । यस्तै, कुनै ठाउँमा तापक्रम ४० डिग्री कट्दा अति तातो भनेर भनिएको छ । यस्तो अवस्थमा मानिसहरु बिरामी हुने सम्भावना रहन्छ ।

मनसुन केही दिन ढिला हुनसक्ने
तत्काललाई मनसुन हुने सम्भावना नरहेको बताइएको छ । यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको मौसमविद् भेटवाल बताउँछन् । “अहिलेको प्रणाली हेर्दा तत्काल मनसुन हुन्छ भन्ने अवस्था छैन,” उनले भने । 

स्वास्थ्यमा असर
महाशाखाका मौसिमविद् भेटवाल भन्छन्, “तापक्रम ४० डिग्री नाघ्नु भनेको धेरै हो । यो थ्रेसहोल्ड नाघ्यो भने मानिसलाई धेरै नै असर गर्छ ।” कुनै स्थानमा बसोबास गर्ने मानिसहरुलाई औसतभन्दा बढी तापक्रम हुँदा त्यसले पार्ने असर फरक हुने उनले बताए । तापक्रम बढ्दै जाँदा शरीरलाई समेत असर गर्ने हुँदा स्वास्थ्यलाई ख्याल गर्न पनि उनले सबैलाई आग्रह गरे । धेरै गर्मी हुँदा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन विभागले सुझाव दिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update