Shittalpati
आफ्नै घरमा आगो लगाउने पक्राउ

गुल्मी,  मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए । 

परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफु बस्ने घरमा आगो लगाएका थिए । आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरुपमा नष्ट भएको छ । अन्य समयमा पनि परियारले मापसे गरी गाउँमा होहल्ला गर्ने र छिमेकीको घरमा आगो लगाइदिन्छु भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा आगो लगाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेल नेतृत्वको टोलीले परियारलाई पक्राउ गरेको थियो । उनलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ । घरमा आगो लागेपछि अलपत्र परेकी रेखबहादुरकी श्रीमती सीता परियारलाई सोमबार जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ । त्यसैगरी, नेपाल रेडक्रसले पनि पीडित परिवारलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update