Shittalpati
तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन

पाल्पा, जन्मदिन मनाउने चलन नेपालीमा अनिवार्य जस्तै बनेको छ । मनाउने तरिका पनि फरक–फरक छन् । धेरैले आफन्त र साथीभाइ बोलाएर पार्टी दिन्छन् भने कतिपयले त होटलमा नै पार्टी दिएर जन्म दिन मनाउने गर्छन् । पछिल्लो समय जन्मदिन खर्चालु पनि बन्दै गइरहेको छ । बालबालिकामा त वर्थ डे मनाउने होडबाजी नै चल्छ । सानादेखि ठूलासम्म सबैले खर्च गरेर जन्मदिन मनाउने गर्छन् । तर, तानसेन नगरपालिका सरसफाइ शाखाका प्रमुख तथा समाजप्रेमी शंकर भण्डारीले भने फरक तरिकाले जन्मदिन मनाएका छन् । उनले आइतबार ४० औं जन्मदिनको अवसरमा आफ्ना सरसफाइकर्मी कर्मचारीहरुसँग बसेर खुसीयाली साट्नुको साथै उनीहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।  

भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए । उनले भने ‘गणतन्त्र भनेको उच्चतम व्यवस्था हो, यसमा किसानको छोराछोरी पनि देशको उच्च पदमा पुग्न सक्छन् तर अझै पनि तल्लो वर्गका नागरिकहरु खुसी हुन सकेका छैनन् । सधै दुखै दुखमा जीउनु परिरहेको छ । कहिल्यै खुसी दिन सकिएको छैन । तिनै समुदायका व्यक्तिसँग खुसी साट्नकै लागि मैले जन्म दिन मनाएको हुँ ।’ भण्डारीले तल्लो समुदायका नागरिकहरु खुसी हुुँदा मात्र आफु खुसी हुन सक्ने बताए । उनले भने ‘म जहिले पनि विपन्न, पिछडीएका र असहायहरुको उन्नती र खुसी भएको देख्न चाहन्छु , मेरो जीवनको आधा समय पनि उनीहरुकै हितमा समर्पित गरेको छु, त्यसैले  पनि म मेरो जन्म दिनमा केक नकाटेर उनीहरुसँग बसेर खुसी साटेको हुँ ।’ प्रमुख भण्डारीले तल्लो वर्ग आर्थिक रुपमा बलियो नहुँदासम्म स्थानीय सरकार बलियो बन्न नसक्ने भन्दै उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले सरसफाइकर्मीसँग खुसी साट्दै भने ‘तपाईहरु जहिले आर्थिक रुपमा सक्षम हुनुहुन्छ त्यतिबेला म पनि सक्षम हुन्छु र केक काटेर वर्थ डे मनाउन्छु ।’ भण्डारीले जन्म दिने आमालाई स्मरण गर्दै आफुले आमाले दिएको आर्शिवाद र  प्रेरणाले नै आज यो अवस्थामा आइपुगेको बताए ।  उनले नगरपालिकामा कार्यरत सरसफाइकर्मीहरुका लागि आफुले सक्दो सहयोग गर्दै आएको उल्लेख गरे । प्रमुख भण्डारीले उनीहरु सबैलाई सम्मान व्यवहार गर्दै आएको समेत बताए । उनले कुनै पनि कर्मचारीलाई समस्या पर्दा आफु निरन्तर रुपमा लागेको उल्लेख गरे । सरसरफाइ शाखामा कार्यरत १८ जना सरसफाइकर्मीहरुलाई अविर र दोसल्ला ओढाएर भण्डारीले सम्मान गरेका थिए ।

सम्मान पाएसँगै सरसफाइकर्मी लक्ष्मी दमाईले भण्डारीले आफुहरुलाई ठूलो सहयोग गरेको बताईन् । उनले  भावुक हुँदै भनिन्‘ शंकर सर आएपछि हामीलाई ठूलो राहत मिलेको छ । उहाँ सधै हामीप्रति निकै चिन्तित हुनुहुन्छ ।’ पहिले पहिले शनिरबार विदा पाउँदैन्थ्यौं, सर आएपछि भने हामीले शनिबार विदा पाउन थालेको उनको भनाई छ । अर्का सरसफाइकर्मी दलबहादुर बिकले बन्द भएको स्वास्थ्य बिमालाई सरको पहलमा पुन सुचारु हुँदा आफुहरुलाई सहज भएको बताए । जन्मदिन मनाउन फजुल खर्च गर्ने युवा पुस्तामाझ भण्डारी उदाहरणीय बनेका छन् । फजुल तथा देखावटी खर्च गर्ने प्रवृतिलाई तल्लो वर्गको खुसीका लागि लगाउँदा राम्रो हुन्छ भन्ने सन्देश दिन आफूले जन्मदिन मनाउने खर्चबाट सरसफाइकर्मीलाई सम्मान र उनीहरुसँग बसेर खाजा खाँदै  खुसी साटेको भण्डारीले बताए ।  सरसफाइकर्मीहरुले आफुहरुप्रति भण्डारीले देखाएको सम्मानले खुसी लागेको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update