Shittalpati
आजदेखि एसइई : पाल्पामा परीक्षा दिने बर्सेनि घट्दै

पाल्पा, पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको पछिल्ला पाँच शैक्षिक सत्रको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको संख्यामा कमी आएको देखिन्छ ।

यो वर्ष आजदेखि सुरु हुने परीक्षामा जिल्लाबाट ४ हजार १ सय ८२ जना विद्यार्थी सहभागी हुँदैछन् । यो गत वर्ष भन्दा ३ सय ७२ ले कम हो । यहाँ २०७९ मा ४ हजार ५ सय ५४ जना विद्यार्थीले एसइई दिएका थिए । २०७६ मा ५ हजार १८ जना विद्यार्थीले परीक्षा दिएकोमा २०७७ मा ४ हजार ८ सय ८४ र २०७८ मा ४ हजार ८२ जनाले परीक्षा दिए । यो ग्राफलाई हेर्ने हो भने बर्सेनि परीक्षा दिने विद्यार्थी घट्दै गएका छन् । तल्लो कक्षमै विद्यार्थीहरुको संख्या अत्यन्त कम हुँदै गएपछि एसइई दिने विद्यार्थीको संख्यामा समेत कमी आएको हो ।   

यसवर्ष पाल्पाबाट नियमिततर्फ ४ हजार १० र ग्रेड बृद्धितर्फ १ सय ७२ जना विद्यार्थीले परीक्षा दिदैंछन् । नियमिततर्फ २ हजार ८८ छात्रा र १ हजार ९ सय २२ छात्रले परीक्षा दिन लागेका हुन् । यस्तै ग्रेडवृद्धितर्फ ७६ जना छात्रा र ९६ जना छात्रले परीक्षा दिनेछन् । परीक्षामा सामुदायिक विद्यालयतर्फका तीन हजार ६ सय ९५ र संस्थागत विद्यालयका ४ सय ८७ जनाले परीक्षा दिन लागेका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयबाट छात्रा एक हजार ९ सय ६४ र छात्र १ हजार ७ सय ३१ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । यस्तै संस्थागतर्फका छात्रा २ सय र छात्र २ सय ८७ जना रहेका छन् । परीक्षामा सहभागी परीक्षार्थी मध्ये २ सय ६७ जना विद्यार्थी प्राविधिकधारतर्फका रहेका छन् । जसमा १ सय २६ जना छात्रा र १ सय ४१ जना छात्र रहेको समन्वय इकाई प्रमुख सुवेदीले एनजेडीलाई जानकारी दिए । उनका अनुसार एक जना कारागारबाट, एक जना हिरासतबाट र एक जना अपा· दृष्टिविहीन विद्यार्थीले परीक्षा दिन लागेका छन् । जिल्लामा सबै भन्दा बढी २ सय ८७  दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाको लागि २७ वटा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुवेदीले जानकारी दिए । यस वर्षको एसइई आजदेखि एकैसाथ पाल्पा सहितदेशभर शुरु हुँदैछ । विहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसइई लिन लागेको हो । आजदेखि २७ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि पाल्पामा आवश्यक तयारी पुरा भएको समन्वय इकाईले जनाएको छ ।

७ सय ९४ जनशक्ति परिचालन
एसइई परीक्षा सञ्चालनका लागि पाल्पामा ७ सय ९४ जना जनशक्ति परिचालन गरिएको छ । जसमा ४ सय ५ जना सुरक्षाकर्मी, २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २ सय १० निरीक्षक, ४० परीक्षा सहायक निरीक्षक र ८४ कार्यालय सहयोगी रहेछन् । समन्वय इकाइका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा पनि सबै गरी २५ जना जनशक्ति खटिने छन् । सुरक्षा संवेदनशीलता भएका केन्द्रमा भने बढी जनशक्ति परिचालन हुनेछ ।

४ सय ५ सुरक्षाकर्मी खटिँदै
एसइई परीक्षालाई सुरक्षित र मर्यादित बनाउन जिल्लाभरका परीक्षा केन्द्रहरूमा ४ सय ५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको प्रश्नपत्र केन्द्र पु¥याउनेदेखि उत्तरपुस्तिका परीक्षण केन्द्रसम्म पु¥याउने जिम्मा पनि प्रहरीलाई नै दिइएको छ । परीक्षाका बेला सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । 

परीक्षालाई सभ्य एवं भव्य बनाउन परीक्षा समन्वय समितिले सबैलाई आग्रह गरेको छ । उसले परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत समेत बनाएको छ । आज हुन लागेको परीक्षामा पाल्पासहित देशभरबाट पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्नेछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update